Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुमा लामा र गौतम मैदानमा

विहीबार, २८ माघ २०७२

काठमाडौँ, २८ माघ । सत्तारुढ एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्वका लागि दुई समूह मैदानमा उत्रिएको छ ।  संस्थापन पक्षबाट वर्तमान महासचिव नविना लामा र माधव नेपाल समूहबाट उपाध्यक्ष दीपक गौतम कडा प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै समूहले आफ्नो टिम बनाएर चुनावी अभियान तीब्र बनाएका छन् ।  

अनेरास्ववियुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण बुधबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलन एकदिन पछि सरेको हो ।

आफ्नो प्यानलै जिताउन पार्टीका गुटका नेतासमेत अखिल सम्मेलनमा होमिएका छन् । 

को को छन् मैदानमा ?

नविना समूह

नविना समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल छन् भने महासचिवमा ऐन महर प्रतिस्पर्धामा उत्रिएका छन् । नविना समूहले सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।

पोखराका आचार्य, हेटौंडाका बर्तौला र सुदूरपश्चिमका महरलाई टिममा राखेर नविनाले क्षेत्रीय सन्तुलन मिलाएकी छन् ।  अध्यक्षका लागि चुनावी तयारी गरेका महरलाई अर्को कार्यकालका लागि अध्यक्ष बनाउने समझदारीमा महासचिवमा मनाइएको हो । उनी अखिलका राम्रो संगठक मानिनछन् । 

आरसी लामिछाने, समिक बडाल, वसन्त ढकाल, मकर खड्कालगायत सचिव र कोषाध्यक्ष हुनेछन् ।  स्कुले विद्यार्थीदेखि नै राजनीतिमा होमिएकी नविनाले यसअघि प्रारम्भिक कमिटीदेखि अखिलको सांगठनिक नेतृत्व गर्ने महासचिव भइसकेकी छन् । उनी त्यसअघि उपाध्यक्ष, केन्द्रीय सदस्य, सचिवालय सदस्यसहित बानेश्वर क्याम्पस स्ववियुको नेतृत्व गरिसकेकी छन् ।

दीपक समूह

एमाले नेता माधव नेपाल निकट गौतम समूहमा उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, निलकण्ठ आचार्य र महासचिवमा अब्दुल हुसेन खाँ छन् । दीपक समूहले पनि सचिव, कोषाध्यक्षसहितको पदाधिकारी टुंगो लगाउन सकेको छैन ।  

दीपकले पनि आफ्नो समूहमा  जातीयरक्षेत्रीय सन्तुलन मिलाएका छन् । अघिल्लो कार्यकालमा सक्रियतापूर्वक खटेका राधिका, अब्दुललगायतको टिम आफ्नो बल भएको गौतमले बताए ।  दीपक टिममा अशेष घिमिरे, आरती लामा, सुदेश पराजुली, गौतम राई, वसिम आलम, शिवजी गुप्तालगायत सचिव, कोषाध्यक्षमा उम्मेदवार बन्नेछन् । करुणा पराजुलीलगायतले सचिवालयको दाबी गरेका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया