Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विज्ञान र अन्तरिक्ष सम्बन्धिको कार्यशाला सुरु

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २८ माघ । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र अमाहीबेलाहा–७ शान्ति वनको एभरेष्ट साइन्स सेन्टरमा बुधबारदेखि तीनदिने विज्ञान र अन्तरिक्ष कार्यशालाको सुभारम्भ भएको छ । 

नेपालका विद्यार्थीलाई अन्तरिक्षमा भएका पिण्डका विषयमा गहन अध्ययनसम्बन्धी दक्षता विस्तार गर्ने उद्देश्यले विज्ञान र अन्तरीक्ष कार्यशालाको आयोजना गरिएको हो । एभरेष्ट साइन्स सेन्टरले आयोजना गर्दै आएको यो कार्यशाला नेपालमा पाँचौँपटक भइरहेको सेन्टरका वैज्ञानिक डा दिलीप अधिकारीले बताए ।  

कार्यशालामा राजधानीका ५५ र राजधानी बाहिरका १५ गरी ७० जना विद्यार्थीलाई तीन दिनसम्म अन्तरिक्षसम्बन्धी विभिन्न विषयमा गहन अध्ययन गराइने कार्यक्रम छ ।  कार्यशालामा सहभागी विद्यार्थीलाई प्रतिव्यक्ति रु आठ हजार ३०० प्रवेश शुल्क लिएर कार्यशालामा सहभागी गराइएको र सहभागी चलाख विद्यार्थीलाई अमेरिकाको वैज्ञानिक अध्ययन केन्द्र (नासा)मा सहभागी गराएर अन्तरिक्षसम्बन्धी अरु थप गहन तालिम प्रदान गरिने उद्देश्य राखिएको छ । 

कार्यशालामा सहभागी विद्यार्थीलाई भारतको कोलकाताको एस्टोनोमी सेन्टरका सदस्य सचिव कौउस्तब चौधरीसहितको तीन सदस्यीय टोलीले टेलिस्कोपका सहायताले सौर्यमण्डल तथा आकाशमा देखिने तारामण्डललगायत विषयमा अध्यापन गराइने र ताराहरुको वास्तविक गुण र अवस्थाका विषयमा जानकारी दिइनेछ । 

कार्यशालामा नेपाल वैज्ञानिक क्रियाकलापका अध्यक्ष कृष्ण अधिकारी, डा दिलीप अधिकारीलगायतले विज्ञान तथा अन्तरिक्षका विविधि पक्षका विषयमा प्रयोगात्मक अध्ययन गराउने कार्यक्रम रहेको डा अधिकारीले बताए । 

“कार्यशालामा विद्यार्थीलाई आवासीय सेवासहित सहभागिता गराइएको र उनीहरुलाई नासाका विषयमा समेत विस्तृत जानकारी गराइने तथा यस वर्ष सेन्टरको सिफारिसमा नेपालबाट एक जना विद्यार्थीले निःशुल्क तथा अरु ५० जनाले आवतजावत खर्च तिरेर नासाको तालिममा सहभागी हुन सक्नेछन”–डा अधिकारीले बताए । 

रासस 

 

प्रतिक्रिया