Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षकको नाममा ट्रष्ट

मंगलबार, २६ माघ २०७२

काठमाडौं - गत वैशाखको भूकम्पमा परी ज्यान गुमाएकी शिक्षक सुजिता चौधरीको नाममा ट्रष्ट स्थापना गरिएको छ । सामुदायिक विद्यालयको पठन पाठनमा सुधार गर्न शुरु अभियानमा संलग्न भएर सिन्धुपाल्चोकमा कृयाशिल चौधरीको वैशाख १२ को भूकम्पमा परी निधन भएको थियो । उनको नाममा टिच फर नेपालले ट्रष्ट स्थापना गरेको हो ।

उक्त ट्रष्ट मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु मध्ये २ जनालाई एसएलसी पछिको अध्ययनका लागि छात्रवृत्ति दिईने छ । यसैगरी सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र वार्षिक रुपमा विज्ञान प्रदर्शनी प्रतियोगिता गर्ने संस्थाका प्रमुख कार्यकारी शिशिर खनालले बताए । विद्यालयमा पुस्तकालय र खेलकुदका माध्यामबाट विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने योजना समेत रहेको उनले बताए । 
टिच फर नेपालले यो बर्षका लागि छनौट गरेको स्वयंम सेवकहरुको परिचयात्मक तथा स्वागत कार्यक्रमका अवसरमा मंगलबार ट्रष्टको घोषणा गरेको हो । 

संस्थाले चौधरीको परिवारलाई दिएको कदर पत्र शिक्षाविद् डा. मनप्रसाद वाग्लेले उनकी दिदी सुभेच्छा चौधरीलाई हस्तान्तरण गरे । कदर पत्र लिदैं चौधरीले सामुदायिक शिक्षा सुधारका लागि आफ्नी बहिनीले पुरा गर्न बाँकी सपना पुरा गर्न संस्था र आउँदा स्वयंम सेवकहरुले ध्यान दिने अपेक्षा गरिन् ।

उनको नाममा स्थापना भएको ट्रष्टमा आर्थिक सहयोग गर्न चाहनेलाई संस्थाले आह्वान समेत गरेको छ ।

चौधरी सिन्धुपाल्चोकको खत्रीथोकमा रहेको भिमसेन माध्यमिक विद्यालयमा स्वयम् सेवकका रुपमा कृयाशिल थिईन् ।

उदयपुरकी चौधरी सन् २०१४ की फेलो हुन् ।

यो बर्ष फेलो हुन ईच्छुक ५ सय ५५ वटा आवेदनबाट ४५ जना छनौट गरिएको खनालले बताए । यी छनौट भएकाहरुलाई अब ६ हप्ता सम्म सामुदायिक शिक्षा सुधारका उपाय बारे बन्द प्रशिक्षण दिईने छ । उनीहरु विज्ञान, स्वास्थ्य, शिक्षा, व्यवस्थापन, कानून र समाज सेवा जस्ता विभिन्न विषयमा अध्ययनरत हुन् ।

विक्रम सम्वत २०७० वैशाखबाट ललितपुरका विभिन्न १६ विद्यालयहरूबाट सुरू भएको अभियान अहिले सिन्धुपाल्चोक र धनुषा समेत ३२ विद्यालयमा पुगेको छ । ३३ जना फेलोबाट सुरू भएको अभियानमा अहिले ८६ जना फेलोहरू आवद्ध छन् । यसबाट ६ हजार विद्यार्थीले पठन पाठन गरिरहेका संस्थाले जनाएको छ ।  आगामी बर्षदेखि करिब सय जना शिक्षकबाट ७ हजार जति विद्यार्थीलाई पठन पाठन गर्ने योजना रहेको खनालले बताए ।

कार्यक्रममा संस्थाका फेलोहरु कृयाशिल विद्यालयका विद्यार्थीले विभिन्न प्रस्तुती देखाएका थिए । उनीहरुले बनाएका शैक्षिक सामग्रीको समेत प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले आफू बेचिएर पनि कसरी समाजमा पुर्नस्थापित हुन सकेँ भन्ने बारेमा बताएकी थिईन् । उनको  जिन्दगीको संघर्ष र सफलताका कथाले स्वयम् सेवकहरुमा थप उर्जा मिल्ने अपेक्षा साथ उनको अनुभव सुनाउन आग्रह गरेको खनालले बताए ।

कार्यक्रममा यस अघिका स्वयम् सेवकले गाउँ गाउँमा जाँदा भोगेका अनुभव र उनीहरुले पढाउन शुरु गरेपछि भएको फरकका बारेमा विद्यार्थीले अनुभव सुनाएका थिए ।

प्रकाशित मिति २०७२ माघ २६ गते

प्रतिक्रिया