Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

स्रष्टाहरुद्धारा साझा प्रकाशन बचाउन प्रचण्डलाई आग्रह 

मंगलबार, २६ माघ २०७२

काठमाडौँ, २६ माघ । वरिष्ठ स्रष्टाले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसमक्ष साझा प्रकाशन बचाउन अनुरोध गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालसँग राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, आजीवन सदस्यद्वय डा वासुदेव त्रिपाठी र मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार मदनमणि दीक्षित, तेजेश्वरबाबु ग्वङ्ग, गीताकेशरी, माया ठकुरी, डा कृष्णहरि बराललगायत ३० स्रष्टाले सो अनुरोध गरेका हुन् । 

अध्यक्ष दाहालले स्रष्टाको आग्रहले आफूलाई दबाब महसुस भएको बताउँदै एकाधिकारवादी व्यवस्थामा खडा भएका संरचना लोकतन्त्रमा झन् नष्ट हुनु दुःखद भएको धारणा राख्नुभयो ।  नेता दाहालले भने– “स्रष्टाको आगमनले मलाई दबाब महसुस भएको छ, यो मेरा लागि अवसर र चुनौती दुवै हो, हामीले साझालाई जोगाउनैपर्छ ।” उनले साझा बचाउन आफ्ना तर्फबाट प्रधानमन्त्री र शिक्षामन्त्रीलार्ई आग्रह गरिने विश्वास दिलाए । 

सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले साझाले भाषा, साहित्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अहिले सो संस्था गम्भीर समस्यामा परेकाले समाधानका लागि आफू पनि अभियानमा सहभागी भएको बताए । 

राष्ट्रकवि घिमिरेले साझा बचाउने उपाय गरिदिन आग्रह गर्दै भाषा साहित्यको जेठो संस्था जर्जर अवस्थामा पुग्नु स्रष्टाका लागि चिन्ताको विषय भएको बताए । पूर्वकुलपति काइँलाले साझा बाँचे लेखक, भाषा र साहित्य पनि बाँच्ने बताए । प्रतिष्ठानका आजीवन सदस्य प्रश्रितले बुद्धजस्ता विद्वान् जन्माउने देशमा साझा ढले साहित्यको विकास हुन नसक्ने बताए ।  डा त्रिपाठीले साझा बचाउन सरकारले दिने ऋणमा आफू साक्षी बस्न पनि तयार रहेको बताए । 

साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफूले एक वर्षदेखि साझा बचाउन अहोरात्र खट्दा समेत राज्यबाट ध्यान नदिइएको गुनासो गर्दै तत्कालका लागि रु ४० करोड सहुलियत ऋण उपलब्ध गराउन माग गरे । 

उहाँले सहकारी विकास बैंकमा दृष्टिबन्धक रहेको संस्थाको सात रोपनी जग्गा बचाउन, १९४ कर्मचारीलाई काम दिन, पठन संस्कृतिको विकासका लागि साझामा सञ्चित पुस्तक स्थानीय निकायमा खरिद गराउन, विद्यालय तहको पाठ्यपुस्तक वितरणको जिम्मा दिन सरकार समक्ष माग राख्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका थिए ।  एमाओवादी प्रवक्ता एवम् साझाका सञ्चालक समितिका सदस्य दीनानाथ शर्माले पार्टी सरकारमा हुँदाको अवस्थामा समेत साझा जस्तो संस्था बच्न नसकेमा आफूहरुलाई समेत अबगाल पर्ने धारणा राखे । 

साझाले यसअघि राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री, अर्थ र शिक्षामन्त्री पोखरेल, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति, मुख्य सचिव लगायतलाई संस्था बचाउन आग्रह गरिसकेको छ । 

रासस 

 

प्रतिक्रिया