Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

बाल विकास केन्द्रलाई दरबन्दी सहित प्रावि तहको तलब माग

सोमबार, २५ माघ २०७२

काठमाडौ - बाल विकास केन्द्रका स्वयम सेविकाहरुले केन्द्रलाई विद्यालयको संरचना भित्र राख्नु पर्ने भन्दै ७ बुँदे माग पत्र सार्वजनिक गरेका छन् । उनीहरुले दरबन्दी कायम सहित प्रावि शिक्षक बराबरको तलब हुनु पर्ने, स्थायी प्रक्रियामा जान एक पटक उमेरहदको ब्यवस्था गर्नु पर्ने, पूर्व प्राथमिक शिक्षकको रुपमा रुपान्तरण गर्नु पर्ने, विद्यालय प्रशासनबाट हुने उत्पीडनको अन्त्य हुनु पर्ने लगायतका माग सार्वजनिक गरेका छन् ।

शिक्षाको जग नै बाल विकास भए पनि साना साना शिशुहरुको स्याहार गरेर उनीहरुलाई औपचारिक शिक्षाको लागि तयार पार्ने स्वयम सेविकाहरु माथि राज्यले विभेद गरेको गुनासो गरेका छन् ।

केन्द्रीय शिशु सञ्जाल तदर्थ समितिले सोमबार पत्रकार सम्मेलन गरेर बालवालिकालाई दिनभरी हेर्ने कामको चुनौतिलाई महसुस गरी विद्यालयको संरचना भित्रै राखेर न्याय गर्न आग्रह गरेको छ । संस्थाकी मोरङ्ग सचिव लिला धमलाले शिक्षाको महत्वपूर्ण खुड्किलोको रुपमा रहेकोले बालविकास केन्द्रहरुलाई विभेद गर्दासम्म शिक्षाको स्तरोन्नती नहुने बताईन् ।

बालवालिकालाई दिउसो खाजा, सुत्ने लगायतका ब्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ ।

बाल विकास केन्द्रका स्वयम सेविकाहरुले मासिक ३ हजार तलब पाउँछन् । उनीहरुलाई १० दिने आधारभूत तालिम दिएर केन्द्रमा नियुक्त गरिन्छ ।

प्रकाशित मिति २०७२ माघ २५ गते

प्रतिक्रिया