Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

चर्किएको भवन नबन्दा टहरामै विद्यार्थी 

सोमबार, २५ माघ २०७२

काठमाडौँ, २५ माघ । मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आशुतोष सत्याललाई अहिले पनि चर्किएको कक्षा कोठामा बसेर अध्यनयन गर्नुपरेको छ । 

विसं १९४८ मा निर्माण भएको सो विद्यालय भवनको आधा भाग वैशाख १२ गतेको भूकम्पले भत्किएको छ । भूइँतलाको बाँकी कोठामा संस्कृत माविका विद्यार्थीले अध्ययन गर्ने गर्छन् ।  भत्किएको पर्खालमा लेउ पलाएको छ । केही कोठा चिरा परेका छन् त केही बस्नै नमिल्ने गरी चर्किएका छन् । चर्किएर प्लास्टर सबै झरेको त्यही कोठामा कोठामा डर र त्रासबीच आशुतोषले प्रवेशिका परीक्षा ९एसएलसी० को तयारी गर्नुपरेको छ । भूकम्पले भत्किएको भग्नावशेष समेत हटाइएको छैन । 

आशुतोषले गुनासो गर्नुभयो – ‘यसै त पुरानो भवन, झन् भूकम्पले सबै भत्किएको छ, चर्किएको छ । बेला बेलामा भूकम्पको धक्का आइरहेको छ । कति बेला भत्किने हो थाहा छैन । यसैमा बसेर पढ्नु परेको छ । डर र त्रास भइरहन्छ । पढाइतिर ध्यानै जाँदैन ।’ 

'मुलुककै पहिलो पाठशालाको रुपमा स्थापित दरबार हाइस्कुल (भानु मावि) मा कक्षा १० मा अध्ययनरत रमिता बोहोराको पनि उस्तै छ समस्या ।'  भवनमा बस्नै नमिल्ने गरी चर्किएपछि विगत नौ महिनादेखि भत्किएकै भवन अगाडि टहरामा बसेर पढ्नु पर्दा पढाइमा ध्यान नै नजाने उनले बताए ।

बोहोराले भने – ‘यसै त टहरामा पढ्दा एउटा कक्षामा पढाएको अर्को कक्षामा अवरोध हुन्छ, त्यसैमाथि सडक छेउमा भएका कारण गाडीको कोलाहल, र धरापमा रहेको भवन कतिबेला भत्किएर टहरोलाई चाप्ने हो भन्ने त्रास छ ।’ 

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्नै परिवारका छोरा भतिजालाई आधुनिक शिक्षा प्रदान गर्न विसं १९१० मा थापाथलीस्थित आफ्नै दरबारको प्राङ्गणमा पढाउने व्यवस्था गरेका थिए ।  सो स्कुललाई थापाथलीबाट विभिन्न स्थान हुँदै विसं १९४८ मा वीरशमशेरले रानीपोखरीनेर हाल दरबार हाइस्कुल अवस्थित भवनमा सारेका थिए । 

त्यस बेलादेखि दरबार हाइस्कुल आजसम्म सोही भवनमा रहिआएको छ । सोही भवनको तल्लो तलामा संस्कृत माध्यमिक विद्यालय रहेको छ ।  संस्कृति माविका प्रधानाध्यापक बद्री दाहालले भने – ‘भूकम्पपछिको पुनःनिर्माण कार्यलाई अगाडि बढाउने योजनाअनुसार रानीपोखरीलाई पुनःनिर्माण गर्ने भनिएको छ तर त्यही अगाडि रहेको सबैभन्दा पुरानो ऐतिहासिक विद्यालय भत्किदा कुनै चाँसो देखाएको छैन ।’  

उहाँका अनुसार शिक्षा मन्त्रालयले कुनै निश्चित एउटा विद्यालयको पुनःसंरचना भन्दा पनि एकमुष्ट रूपमा जिल्ला शिक्षा कार्यालयले प्राथमिकताको आधारमा पुनःसंरचना वा पुनःनिर्माण गर्ने आश्वासन दिँदै आएको छ । दरबार हाइस्कुललाई पुनःनिर्माण गर्ने सवालमा सरकार, शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवालाबीच नै आरोप प्रत्यारोप मात्रै चल्ने गरेको छ । 

भूकम्प जानुभन्दा पहिले नै सो हाइस्कुलको भवनको जस्तापाताबाट वर्षातको समयमा पानी चुहिएर पठनपाठनमा समस्या हुँदै आएको थियो । भूकम्पपछि भानु मावि र संस्कृत माविका केही विद्यार्थीले विद्यालय परिवर्तन गरेको बताइन्छ । 

पुतलीसडक नजिकै रहेको पद्मोदय उच्च माध्यमिक विद्यालयका विद्यार्थी भूकम्प गएको १० महिनापछि पनि टहरामै बसेर पढ्न बाध्य छन् ।  कक्षा १० मा अध्ययनरत स्वस्तिका चौँलागार्इंले एउटा कक्षाको हल्लाले अर्को कोठामा अवरोध हुनु। जाडोमा जस्तापाताबाट शीत चुहिनु, भूइँबाट चिसो उठ्नु जस्ता समस्या रहेको बताए । 

यसरी नै चर्किएकै भवन वा टहरामै अवरोध र त्रासकाबीच अध्ययन÷अध्यापन गराउने क्रम जारी रहे आफ्नो छोराछोरीलाई विद्यालय परिवर्तन गराउनुपर्ने अवस्था आउने अभिभावक सुस्मिता तिवारी बताउँछन् । भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोले जाडोको समयमा पनि विद्यार्थीलाई टहरामै राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको बताउँदै जतिसक्दो चाँडो नयाँ भवन निर्माणमा सहयोग गरिदिन सरकारसँग आग्रह गरे ।  

पद्मोदय उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापक मीना कोइरालाले अबको दुई वर्षभित्रमा भवन तयार हुने विश्वास व्यक्त गरे ।  

रासस 

 

प्रतिक्रिया