Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नक्कली प्रमाणपत्र चाँडो छानबिन गर्न माग

आइतबार, २४ माघ २०७२

काठमाडौँ, २४ माघ । नेपालस्थित बङ्गलादेश दूतावासको सेल्फ फाइनान्स योजनाअन्तर्गत बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जानेबारे उत्पन्न विवादलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरिएको छ । 

बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी चार÷पाँच जना विद्यार्थीको प्रमाणपत्र नक्कली भएको विषयमा सुरू गरिएको छानबिनमा ढिलाइ भएको र त्यसले गर्दा आफूहरूको पढाइमा समेत अवरोध सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरे । 

शेरे बङ्गला मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनका लागि छनोट भएकी विद्यार्थी सुदीक्षा आचार्यले विवादबारे तत्काल टुङ्गो नलागेमा आफूले यस शैक्षिकसत्रदेखि अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै गुनासो गरे । 

यही माघ २८ सम्ममा आफूहरुले भर्ना गर्नुपर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानबिनका नाममा प्रक्रिया लम्ब्याउने काम गरेको भन्दै जतिसक्दो चाँडो टुङ्गो लगाउन विद्यार्थीले शिक्षामन्त्रीसँग आग्रह गरेका हुन् । 

सम्बन्धित व्यक्तिको मात्र छानबिन गर्नुको सट्टा मन्त्रालयले आफूहरूमाथि पनि छानबिन गरेर दुःख दिने गरेको विद्यार्थीको भनाइ छ ।  विद्यार्थी विभुषा उप्रेतिले जतिसक्दो चाँडो समस्या समाधान गरेर अध्ययनको वातावरण बनाउन आग्रह गरे । 

रासस 

 

प्रतिक्रिया