Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

तल्लो तहका शिक्षकले उच्च माविमा पारिश्रमिक लिन नपाउने

शुक्रबार, २२ माघ २०७२

काठमाडौं २२ माघ / तल्लो तहका शिक्षकले उच्च माध्यमिक तहमा पढाए पनि पारिश्रमिक लिन नपाउने भएका छन् । माध्यमिक तहमा स्थायी वा अस्थायी शिक्षक भएबापत पनि तलब लिने र उच्च माध्यमिकमा पनि थप पारिश्रमिक लिने गरेको उजुरीे परेपछि शिक्षा विभागले दोहोरो सुविधा नपाउने व्यवस्था गरेको हो ।

विद्यालय समयभन्दा बाहिरको समयमा उच्च माध्यमिक तहमा पढाउन योग्यता पुगेका शिक्षकले पढाएर तलबभत्ता लिने गरेका थिए । ‘दुवै तहमा सरकारले नै रकम उपलब्ध गराउने भएकाले दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको हो,’ शिक्षा विभागका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले भने, ‘माथिल्लो तहको तलबभत्ता लिने हो भने तल्लो तहमा लिनु भएन । दुवै तहमा लिनु गैरकानुनी हो ।’

तल्लो तहमा स्थायी वा अस्थायी शिक्षकले माथिल्लो तह पढाएपछि खाजा खर्चबापत न्यूनतम रकम पाए पनि पारिश्रमिक लिन नपाइने उनले बताए । ‘एक/दुई हजार खाजा खर्च भनेर विद्यालयको स्रोतबाट लिन सक्छन्,’ बरालले भने, ‘पारिश्रमिक भनेर लिन पाइँदैन ।’ सरकारको अनुदानबाट अतिरिक्त पारिश्रमिक प्रदान नगर्न विभागले सबै क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।

यस्ता शिक्षकलाई विद्यालयको आन्तरिक स्रोतबाट न्यूनतम रकम प्रोत्साहनस्वरूप प्रदान गरे पनि व्यवस्थापन समितिको निर्णयअनुरूप मात्रै गर्न सकिने व्यवस्था गरेको छ । यस्ता दोहोरो सुविधा लिने शिक्षक कति छन् ? भन्ने विभागसँग यकिन तथ्यांक छैन ।

अधिकांश सामुदायिक उच्च माध्यमिक विद्यालयमा दरबन्दीका शिक्षकलाई निकासा भएको तलब बाँडचुँड गर्छन् ।

उदाहरणका लागि कुनै एउटा उच्च माध्यमिक विद्यालयमा दुई जना दरबन्दीको शिक्षक छन् भने उनीहरूका लागि जाने तलब सबै शिक्षकलाई भागबन्डा गर्छन् । तर यस्ता कार्य गर्न नपाइने विभागले जनाएको छ । उच्च माध्यमिक तहमा विद्यार्थीसँग शुल्क लिन पाइने भएकाले त्यही रकमबाट दरबन्दीभन्दा बेगरको शिक्षकको पारिश्रमिकको व्यवस्था गर्नुपर्ने बरालले बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया