Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

व्यवसायीद्धारा विद्यालयलाई ५० लाख

शुक्रबार, २२ माघ २०७२

काठमाडौँ, २२ माघ । देउराली ४ बेलहानीस्थित नेपाल शान्ति माविलाई काठमाडौं बालुवाटार बस्दै आएका एक व्यवसायीले ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।  जिल्लाकै रकुवामा जन्मिएका ३९ वर्षीय घनश्याम पाण्डेले नगद १० लाख र ४० लाखबराबरको जग्गा दिएका हुन् ।

पाल्पाको बाकामलाङमा हुर्किएका हाउजिङ तथा स्टेसनरी व्यवसायी पाण्डेले स्वर्गीय बाबु कमलापति र दाइ ध्रुवराजको स्मृतिमा उक्त सहयोग गरेका हुन् । सहयोग राशि ठूलो भएकाले विद्यालयकै नाम परिवर्तन गर्ने तयारी भइरहेको छ । ‘मैले पनि पढ्नका लागि धेरै दुस्ख गर्नु पर्‍यो,’ उनले भने, ‘अरूले त्यस्तो दुस्ख भोग्नु नपरोस् भनेर सहयोग दिएको हुँ ।’

भक्तपुर ताथलीमा रहेको एक रोपनी जग्गा बिक्री गरेर विद्यालयलाई रकम दिने उनले बताए । राजमार्गबाट ७ किलोमिटर उत्तरमा पर्ने विद्यालयमा मगर, दलित, थारू र कुमाल समुदायका बालबालिका पढ्छन् । विद्यार्थी धेरै भए पनि विद्यालयको आर्थिक अवस्था कमजोर छ ।

‘मेरो गाउँमा विद्यालय जान ४ घण्टा लाग्थ्यो,’ उनले भने, ‘जसले दुस्ख भोग्छ, उसैले दुस्ख के हो भनेर बुझ्छ ।’ उनी ५ दाजुभाइमध्ये काइँला हुन् ।  सहयोग पाएपछि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक दंग छन् । ‘विद्यालयमा समस्या धेरै छ,’ प्रधानाध्यापक लालचन्द्र लामिछानेले भने, ‘हाम्रा लागि यो सहयोग ठूलो हो ।’  

उक्त रकम अक्षय कोषको रूपमा राखेर ब्याजबाट विद्यालयको भौतिक पक्षमा सुधार गर्दै लगिने उनले बताए । भक्तपुर ताथलीको एक रोपनी जग्गा प्रधानाध्यापक लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनसिंह रजालीको नाममा रजिस्ट्रेसन पास भएको छ । 

यस वर्ष चार सय ३७ विद्यार्थी भर्ना भएका छन् । मावि तहको एउटा मात्र दरबन्दी छ । भवन भूकम्पबाट क्षतिग्रस्त छ । ‘शिक्षकको समस्या छ,’ व्यवस्थापन समिति अध्यक्ष रजालीले भने । भवनको माग सुनुवाइ नभएको अभिभावक पदमबहादुर पौडेलले बताए ।

विद्यालयमा खानेपानीको समस्या छ । साढे आठ बिघा जग्गामा रहेको विद्यालयमा कक्षाकोठा नभएकाले विद्यार्थीलाई स्टोर कोठामा राखेरसमेत पढाउने गरिएको छ । ‘घाँस बिक्रीबाट वार्षिक ८० हजार रुपैयाँ आउँछ,’ व्यवस्थापन समिति सल्लाहकार लक्ष्मी पाण्डेले भनिन्, ‘त्यही रकमबाट शिक्षकलाई तलब खुवाउँछौं ।’ त्यो दिगो स्रोत नभएको पाण्डेले बताइन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया