Edukhabar
मंगलबार, २७ कार्तिक २०८१
अन्तैवाट

अब शैक्षिक योग्यताको ग्रेडका आधारमा 'रोजगारी'

शुक्रबार, २२ माघ २०७२

काठमाडौँ, २२ माघ । सरकारले यस वर्षदेखि ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने भएपछि रोजगार प्रदायक निकायले एसएलसीमा कुन समूहसम्मका विद्यार्थीलाई रोजगारी दिने यकिन गर्नुपर्ने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ कार्यान्वयन गराउन लोकसेवा आयोग लगायत सम्पूर्ण सार्वजनिक निकायलाई कस्ता क्षमता भएका विद्यार्थीलाई जागिर दिने भन्ने निर्णय गर्न आग्रह गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बुधबार सरोकारवाला सहितको बैठकले रोजगार प्रदायक निकायहरूलाई अक्षरांकन पद्धति बमोजिम प्राप्त प्रमाणपत्रको उपयोग सम्बन्धमा आवश्यकताअनुसार निर्णय गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, शिक्षक सेवा आयोग, उद्योग वाणिज्य महासंघ लगायतलाई केन्द्रले यसबारे आफ्नो धारणा दिन आग्रह गरेको हो ।

त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद् र सीटीईभीटीले पनि कुन समूहसम्मका विद्यार्थीलाई लिने भन्ने बुधबारसम्म निर्णय गर्दै छन् । बैठकले एसएलसीपछि माथिल्लो तह अध्ययनका लागि आवश्यक पर्ने मापदण्डहरू तयार गरी तत्काल लागू गर्न गराउन शिक्षा मन्त्रालय सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

यस वर्ष ग्रेडिङ प्रणालीबाट नतिजा आउने भएपछि सबै पास हुने भन्दै विद्यार्थी र अभिभावकमा भ्रम छ । तर, माथिल्लो तहको अध्ययन र रोजगारीका लागि निश्चित ग्रेड आएको हुनुपर्छ ।

यसैबीच परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसएलसी दिने विद्यार्थीलाई व्यक्तिगत विवरण समेटिएको कार्ड दिने भएको छ । परीक्षा सकिएको दिन विद्यार्थीको विवरण भएको कार्ड दिइने कार्यालयले जनाएको छ ।

परीक्षामा सहभागी विद्यार्थीको विवरण गल्ती हुँदा सास्ती पाएपछि नतिजा आउनुअघि नै सच्याउन कार्यालयले कार्ड दिने व्यवस्था गर्न लागेको हो । कार्डमा विद्यालयको नाम, सिम्बल नम्बर, रजिस्ट्रेसन नम्बर, जन्ममिति, ऐच्छिक विषयहरूको विवरण उल्लेख हुनेछ ।

विद्यार्थीको प्रवेशपत्र र कार्यालयले उपलब्ध गराएको विवरण फरक भए तत्काल शिक्षा कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ ।   ‘परीक्षाको सुरुको दिन कार्ड वितरण गर्दा गलत विवरण हुने विद्यार्थीमा तनाव हुने भएकाले परीक्षा सकिएको दिन सबैलाई दिन्छौं,’ परीक्षा नियन्त्रक खगेन्द्र नेपालले भने ।

परीक्षार्थीले भरेको विवरण कार्यालयमा इन्ट्री हुँदा सही भयो भनेर विद्यार्थी ढुक्क हुन्थे । नतिजासँगै विद्यार्थीले पाउने लब्धांकपत्र हातमा परेपछि मात्रै गलत विवरण आएको थाहा पाउँथे । ‘अब परीक्षा सकिएलगत्तै आफ्नो विवरण के छ ? थाहा पाउनेछन्,’ उनले भने । चैत १८ देखि सुरु हुने परीक्षामा ६ लाख १५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने नियन्त्रक नेपालले बताए ।

परीक्षा नियन्त्रण कार्यालयले ५० भन्दा बढी जिल्लामा उत्तरपुस्तिका पुर्‍याइसकेको जनाएको छ । अन्य जिल्लामा पनि लैजाने क्रममा जारी रहेको नियन्त्रक नेपालले बताए । प्रश्नपत्र छपाइ सोमबार सुरु हुँदै छ ।

जनक शिक्षा सामग्री केन्द्रको सुरक्षित प्रेसमा प्रश्नपत्र छपाइमा गोपनीयता कायम गर्न बिहीबार सुरक्षाकर्मीसहितको बैठक बसेको थियो । नियन्त्रक नेपालका अनुसार यसपालि मुलुकभर एक हजार नौ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । काठमाडौंमा १९४३ केन्द्र तय भएको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया