Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय बन्द गर्ने एन प्याब्सनको चेतावनी

शुक्रबार, २२ माघ २०७२

काठमाडौँ, २२ माघ । पटकपटकको बन्द र हडतालबाट आजित भएका धनुषाका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) धनुषाले विद्यालयनै बन्द गर्ने चेतावनी दिएको छ । 

आन्दोलनरत मधेसी मोर्चाले पटकपटक गर्ने गरेको बन्द हडतालका कारण शिक्षा क्षेत्र तथा विद्यार्थीको भविष्य धराशायी बनेको भन्दै एन प्याब्सनले यस्तो चेतावनी दिएको हो । 

यसअघि मधेसमा जारी आन्दोलनलाई समर्थन जनाउँदै आएको एन प्याब्सनले यही माघ २३ गतेसम्ममा मोर्चालगायत आन्दोलनरत पक्षले विद्यालय बन्द नगर्ने प्रतिबद्धता नजनाए आफूहरुले आगामी चैतसम्म विद्यालय ठप्प पार्ने चेतावनी दिएको छ । बिहीबार बसेको एन प्याब्सनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सचिव अवधेश तिवारीले बताए । 

मोर्चाले बिहीबारबाट फेरि अनिश्चितकालीन आमहडताल घोषणा गरेपछि आक्रोशमा आएका एन प्याब्सनले यस्तो निर्णय गर्न बाध्य भएको सचिव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको नाममा मधेसी मोर्चाले पटकपटक गर्ने गरेको बन्द हडतालका कारण धनुषाका एक लाखभन्दा बढी निजी तथा सरकारी विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

यसैगरी मोर्चाले साउन ३० गते आमहडतालको घोषणा गरेपछि हालसम्म दसैँ तथा तिहार बिदाबाहेक ७० दिन विद्यालय बन्द भएको जनाइएको छ ।  सरकारी क्यालेन्डरअनुसार २३० दिनसम्म कक्षा सञ्चालन हुनुपर्ने र १५४ दिन विद्यार्थीको हाजिरी भएका विद्यार्थीमात्र एसएसली परीक्षामा सामेल हुनुपर्ने व्यवस्था रहेको छ तर लामो समयदेखि बन्द हडतालको कारण यस वर्ष सरकारी क्यालेन्डर पूरा हुने सम्भावना क्षीण भएको छ । 

यता मोर्चाले आजबाट गरेको आमहडतालको जनकपुरमा न्यून प्रभाव परेको छ । विद्यालयबाहेक बजार, यातायात, कलकारखाना, वित्तीय संस्था सबै सञ्चालनमा रहेका थिए ।  काँग्रेस नेता विमलेन्द्र निधि बुधबार जनकपुर आएपछि नेपाली काँग्रेसको शक्ति प्रदर्शनका कारण बन्दको प्रभाव पर्न नसकेको सर्वसाधारणबीच चर्चा चलेको छ । 

रासस 

 

प्रतिक्रिया