Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय चलाउन श्रम र तलब दान !

बुधबार, २० माघ २०७२

काठमाडौँ, २१ माघ । विद्यार्थी नहुँदा दुर्गम गाउँका सामुदायिक विद्यालय धमाधम बन्द हुने अवस्थामा छन् ।  तर पर्वतको सबैभन्दा दुर्गम होश्राङ्दीका बासिन्दाले गाउँको विद्यालय चलाउन श्रम र तलब दान अभियान थालेका छन् । 

होश्राङ्दी–५ जम्पुरस्थित गोर्लाङ्गधाम निमावि सञ्चालनका लागि अभिभावकले वर्षमा एक दिनको कमाइ र प्रत्येक वर्ष छ दिन श्रमदान गर्न सुरु गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए ।  “सरकारले दिएको भन्दा बढी शिक्षक नियुक्त गर्नुपर्दा समस्या भएको थियो” रानाले भने– “विद्यालय बन्द हुनबाट रोक्न अभिभावकले नै श्रम र तलब दान अभियान थालेको हो ।” 

नजिकैको विद्यालय बन्द भए त्यहाँका विद्यार्थी डेढ घन्टा पैदल सूर्य मावि पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर अभिभावक नै स्रोत सङ्कलनमा लागेका हुन् ।  विद्यालयका लागि दिएको चन्दा र श्रमदानबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनामा खर्च गर्ने गरिएको छ । 

विद्यालयको क्षेत्रमा पर्ने होश्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दान गर्दछन् । यसरी दान गर्दा वर्षमा रु ५० हजारभन्दा बढी नगद सङ्कलन हुने गरेको प्रधानाध्यापक रानाले जानकारी दिए ।  

निमावि तहमा सरकारी शिक्षक सङ्ख्या कम हुँदा निजीस्रोतबाट शिक्षक राख्नुपरेको विद्यालयको भनाइ छ । 

अभिभावकको श्रम र तलब दानबाट उठेको रकमबाट चार शिक्षकले मासिक तलब खाँदै आएका छन । १३ जना शिक्षक कार्यरत रहेको यो विद्यालयमा सरकारी तहबाट नौ जनाले तलब बुझ्छन् । शिक्षकलाई तलब खुवाउन देउसीभैलो खेल्नेदेखि बाँझो खेतमा धान र आलुखेती समेत लगाउन थालिएको छ । 

“अभिभावक सामूहिक रुपमा अन्नबाली लगाउने र उठाउने गर्नुहुन्छ” स्थानीय ईश्वरीप्रसाद भुसालले भने– “उत्पादन भएको अन्न बिक्री भएबापतको रकम विद्यालयकै कोषमा जम्मा हुन्छ ।” 

रासस 

 

प्रतिक्रिया