काठमाडौं ११ चैत / एसएलसी परीक्षा अन्र्तगत बुधबार सञ्चालित परीक्षामा बझाङ् जिल्लामा मात्रै १८ जना नक्कली परीक्षार्थी फेला परेका छन् । जनप्रीय उच्च माध्यमिक विद्यालय बगडगाउँ परीक्षा केन्द्रमा १३ जना र चौधारी उच्च माध्यमिक विद्यालय जुजी परीक्षा केन्द्रमा ५ जना नक्कली परीक्षार्थी फेला परेका हुन् ।
बगडगाउँ परीक्षा केन्द्र अन्र्तगत शान्ति सिंहको नाममा रुमेला मल्ल, अम्बर बहादुर सार्कीको नाममा नरेन्द्र सार्की, भुवन कुमार मण्डेलको नाममा आशिष मण्डेल, विकास बहादुर मण्डेलको नाममा पुरन मण्डेलले परीक्षा दिदैं गरेको फेला परेको हो । सोहि केन्द्मा गंगाकुमारी कडायतको नाममा रुमिला कुमारी कडायत, मिञ्जु काुमारी कडायतको नाममा प्रतिमा कुमारी ऐडी, निराजन ऐडीको नाममा राजेश ऐडि, शैलेन्द्र कडायतको नाममा विकास कडायत, संगिता चमराको नाममा सृजना विसी, सुचन कुमारी कडायतको नाममा अनील कडायत, सुष्मा कुमारी कडायतको नाममा भगवती कडायत, सविता कुमारी मण्डेलको नाममा शुसीला कुमारी मण्डेल र कृष्ण कुमार जोशिको नाममा लक्ष्मी कुमार उपाध्यायले परीक्षा दिएको फेला परेको हो ।
यसैगरी जुजी परीक्षा केन्द्रमा इश्वर राज जोशिको नाममा शिवराज जोशि, इश्वर बहादुर धामिको नाममा गोपाल धामी, राजेश सार्कीको नाममा पदम सार्की, विन्दुकुमारी उपाध्यायको नाममा कल्पना उपाध्याय र योगेन्द्र बहादुर सिंहको नाममा महेश सिंहले परीक्षा दिएको फेला परेको हो ।
उनीहरुको यो बर्षको परीक्षा रद्ध गरी आउँदो बर्ष समेत दिन नपाईने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी मोतीलाल पोखरेलले एडुखबरलाई जानकारी दिए । मंगलबार जालपा उच्च मावि रिठ्ठा पाटा देवलमा कविन्द्र बहादुर सार्किको परीक्षा लेख्दै गरेका नक्कली विद्यार्थी कृष्णराज उपाध्याय पक्राउ परेका थिए । नक्कली विद्यार्थी फेला परे पछि थप कडाई गर्दा बुधबार एकै दिन धेरै संख्यामा नक्कली विद्यार्थी फेला परेको उनले बताए ।
गत बर्षहरुमा नक्कली विद्यार्थी फेला पर्दा जुन दिन फेला परेको हो त्यहि दिनको मात्रै परीक्षा स्थगित गर्ने चलनका कारण विद्यार्थीको मनोबल बढेको उनले बताए । नक्कली परीक्षार्थी फेला परेमा ६ महिना सम्म जेल र एक लाख रुपैंया जरीवानाको ब्यवस्था अनुसार मुद्धा चलाउने प्रकृयामा रहेको उनले बताए ।
उनीहरुलाई के कती जरीवाना र कैद हुन्छ भन्ने कुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने मुद्धाको छिनोफानो पछि मात्रै टुङ्गिने उनले बताए ।
बझाङ्मा १६ केन्द्रमा परीक्षा भईरहेको छ । नियमित तर्फ ३ हजार ४ सय ९७ र एक्जाम्टेड तर्फ १ हजार ७ सय २ परीक्षार्थी यसबर्षको एसएलसीमा सहभागि भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
बझाङ्मा १८ सहित सहित यस बर्ष कालिकोटमा २२, मुगुमा १, काठमाडौंमा १, सप्तरीमा १ गरी अहिले सम्म ४३ जना नक्कली परीक्षार्थी फेला परेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । ‘परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउँदा नक्कली विद्यार्थी फेला पर्ने क्रम बढेको हो’ नियन्त्रक विष्णु बहादुर द्धारेले भने, ‘नक्कली परीक्षार्थीले जाँच दिदाँ पनि केही हुँदो रैन्छ भन्ने मान्यताले अझै पनि काम गरेको छ हामी यस्ता नक्कली विद्यार्थीलाई कानून अनुसार अधिकतम कारवाहि गर्छौ ।’
प्रतिक्रिया