Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

खाजाले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्यो

बुधबार, २० माघ २०७२

काठमाडौँ, २१ माघ । जाजरकोटका ग्रामीण क्षेत्रका विद्यालयमा दिवा खाजाका कारण विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ ।  अघिल्लो वर्षभन्दा झन्डै पाँच हजार नयाँ विद्यार्थी दिवा खाजा कार्यक्रम ल्याएपछि थपिएका छन् । 

दिवा खाजा कार्यक्रम लागू भएपछि बर्सेनि विद्यालय उमेरका विद्यार्थी खाजाकै कारण बढी थपिने गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका संयोजक रवीन्द्रमानसिंह भण्डारीले जानकारी दिए ।  

दिवा खाजा कार्यक्रम लागू नभएका गाविसका विद्यार्थी नजिकैको गाविसमा लागू भएको ठाउँमा आएर धमाधम भर्ना भई खाजा उपभोग गर्ने गरेको सूर्यकिरण प्रावि खगेनकोट–५ का प्रधानाध्यापक गोपाल केसीले बताए ।  

जिल्लाको, रग्दा, खगेनकोट, डाँडागाउँ, लहँ, सक्ला, नायकवाडा, भगवती, रोकायगाउँ, रामीडाडाँ, ढिमे, पैक, टालेगाउँ, अछानी, पजारु, दह, मजकोट, कोताङ र गर्खाकोट गरी १८ गाविसमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको छ । 

एक सय ६३ वटा प्राथमिक विद्यालय र २६ वटा बालविकास केन्द्रका २५ हजार बालबालिकाले पौष्टिक आहार (दिवा खाजा) खाने गर्दछन् । गत वर्ष २२ हजार ५०० विद्यार्थीले दिवा खाजा खाने गरेकामा यो आवमा दुई हजार ५०० वृद्धि भई २५ हजार जनाले दिवा खाजा खाने गरेका छन् । 

सुगमभन्दा दुर्गममा यो कार्यक्रम निकै प्रभावकारी भएको शिक्षाका लागि खाद्य कार्यक्रमका स्टोर किपर प्रताव हमालले जानकारी दिए ।  जिल्लाका अन्य बाँकी रहेको १२ वटा गाविसमा पनि खाद्य कार्यक्रम लागू हुनुपर्ने विद्यार्थीले माग गरेका छन् । 

पहिले बिहान १० देखि बेलुका ३ः३० बजेसम्म भोकले गर्दा हैरान हुने बालबालिका दिवा खाजा पाएपछि निकै रमाई रमाई पढ्ने गरेको सरस्वती माध्यमिक विद्यालय नायकवाडाका प्रधानाध्यापक मनबहादुर सिंहले बताए । 

घरदेखि विद्यालय धेरै टाढा हुने र पहाड डाँडामा विद्यालय हुने भएका कारण आउँदा जाँदा मात्र घन्टाँै लाग्ने यहाँका ग्रामीण बस्तीका बालबालिकालाई दिवा खाजा कार्यक्रम बरदान भएको हिमालय प्रावि तल्लुका प्रधानाध्यापक वुद्धिबहादुर बस्नेतको भनाइ छ । 

दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा पहिले पढ्दापढ्दै भोक लाग्यो भन्दै बीचमा कक्षा छोडेर घर जाने सङ्ख्या पनि धेरै थियो । अहिले पढाइ पनि राम्रो भएको र पेटभरि खाना पनि पाउँदा विद्यार्थी निकै खुसी भएका छन् । प्रतिविद्यार्थी ११० ग्रामका दरले दिवा खाजा वितरण हुँदै आएको छ । ठेकेदारमार्फत दिवा खाजा स्रोत केन्द्रसम्म पु¥याउने र स्रोत केन्द्रबाट विद्यालयसम्म स्थानीय खाजा समितिले पु¥याउने गर्दछन् । 

रासस 

 

प्रतिक्रिया