Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कांग्रेस अधिवेशनमा भाग लिने शिक्षकलाई कारवाही हुने

बुधबार, २० माघ २०७२

- श्रीधर पौडेल / विष्णु विवेक / नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशन अन्र्तगत विभिन्न तहमा भएका निर्वाचनमा शिक्षकको सहभागिता उल्लेख्य रह्यो । सामाजिक सञ्जालमा बधाईको ओईरो थाप्नेहरुको लस्करमा शिक्षकहरुको संख्या प्रसस्तै देखियो । ती निर्वाचित अनुहार र निर्वाचनमा सबैभन्दा बढी सक्रिय रहेका भनिएका व्यक्तिहरुमा धेरैजसो शिक्षक नै भएपछि पढाउने शिक्षक नै दलगत राजनीतिमा संलग्न हुँदा पठन पाठन के होला ? भन्ने प्रश्न उब्जेको छ ।

मर्यादा भुल्दै कांग्रेस अधिवेशनमा शिक्षकहरु, पार्टि चलाउलान् की विद्यालय ?

नेपालकै जेठो र संसदमा सबैभन्दा ठूलो दल कांग्रेसको महाधिवेशनले यो प्रश्न थप पेचिलो मात्रै हैन शिक्षकले कुन हद सम्म राजनीतिक गतिविधि गर्न पाउने हुन् भन्ने स्पष्ट पार्नु पर्ने गरी बहसको सृजना गरेको छ । यति मात्रै हैन निर्वाचन कार्यमा सघाउन भन्दै कतिपय जिल्लामा सामुदायिक विद्यालय बन्द नै गर्ने सम्मका काम भए ।

कांग्रेस अधिवेशनका लागि विद्यालय नै छुट्टि !

त्यसो त पार्टीको महाधिवेशन आउँदा ज्यानै फालेर शिक्षकहरु सहभागि हुने क्रम यस पटक मात्रै देखिएको हैन । सबै जसो दल आवद्ध शिक्षक आ आफ्ना दलका कृयाकलापमा खुलेरै लाग्दै आएका छन् । नेपालका अहिलेका प्रायः सबै शीर्ष नेताहरु शिक्षक पृष्ठभूमिबाटै आएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्ण बहादुर महरा, पूर्व उपाध्यक्ष तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराई,एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल, माधव नेपालसम्म कुनै न कुनै समयमा शिक्षक नै थिए । शिक्षकबाट राजनीति गर्दा गर्दै उनीहरु अहिले राज्य सञ्चालक भएका छन् । ठूल्ठूला मञ्चमा शिक्षकले राजनीति गर्नुहुन्न भन्नेहरु नै प्रत्यक्ष या अप्रत्यक्ष रुपमा शिक्षकले राजनीति नगरेसम्म राजनीतिक हैसियत कायम रहन्न भन्ने भ्रममा बाँचिरहेका छन् ।

कांग्रेसले आफ्नो अधिवेशनको चुनावी प्रकृया सञ्चालनकै लागि शिक्षकलाई जिम्मा दिएको छ । कांग्रेसका शिक्षा विभाग प्रमुख चन्द्र भण्डारी महाधिवेशनमा शिक्षकहरुको सहभागिता सामान्य कुरा भएको दावी गर्छन् । ‘अहिले कुन पार्टीले शिक्षकलाई प्रतिनिधी खटाउँदैन् । शिक्षकहरु राजनीतिका पहिलो गुरु हुन्, भण्डारी भन्छन्, शिक्षकहरुले राजनीति नगरे सचेत नागरिक यसरी खुलेर लाग्नै सक्दैनन् ।’

तर, कांग्रेस निकट शिक्षक संघका पूर्व अध्यक्ष केशव भट्टराई उतिखेरको राजनीतिक संकुचनका अवस्थामा शिक्षकहरुको सहभागिता सामान्य भए पनि अहिलेको अवस्थामा त्यो जरुरी नभएको धारणा राख्छन् । ‘शिक्षक पदमा रहुञ्जेल कांग्रेसको सहयोगी, समर्थक र शुभेच्छुक हुन त हुन्छ, तर कुनै निर्वाचित् पदमै बसेर काम गर्न भने हुन्न भन्ने मेरो मान्यता हो !’ उनी भन्छन्, ‘२०४६ साल अघिको परिस्थिति अलग हो ! त्यो बलिदानको समय थियो, अवसरको समय थिएन !’

कांग्रेस निकट शिक्षक संघका अध्यक्ष समेत शिक्षक महासंघका अध्यक्ष केशव निरौला शिक्षकले अहिलेसम्म कुनै पनि किसिमको राजनीति नगरेको दावी गर्छन् । ‘शिक्षकले आफ्नो समयमा पढाउने हो । पढाएर विद्यालयबाट निस्केपछि उ जे सुकै गरोस् । यसमा कसको के आपत्ति ?’ उनले भने ‘शिक्षकले राजनीति गरेका छैनन् । गरे भन्नेहको निराधार आरोप हो । फेरी यो देशमा राजनीति नगरेका को छन् र ?’

तर शिक्षाविद डा. मनप्रसाद वाग्ले शिक्षकको काम पढाउने मात्रै हो राजनीति गर्ने हैन भन्छन् । ‘शिक्षालाई राजनीतिबाट मुक्त राख्न शिक्षा मन्त्रालय नै अग्रसर हुनु पर्छ, कांग्रेसको अधिवेसनमा जम्मा भएका शिक्षकहरुले आफूलाई कामचोर प्रमाणित गरिदिएका छन्' उनी भन्छन्, 'कार्य समय भित्रै गरिने यस्ता क्रियाकलाप नैतिक पतनका उदाहरण हुन् ।'

कांग्रेसको अधिवेशनमा भाग लिने शिक्षकहरु प्रति कटाक्ष गर्दै उनले सामाजिक सञ्जालमा लेखे – ‘वैचारिक राजनीतिका नाममा अधिवेसनमा भाग लिन जान विद्यालयनै बन्द गर्नु भनेको आफूले खाने थालमा आफैंले......गर्नु सरह हो । यस्ता क्रियाकलापमा नियन्त्रण नभए सम्म शिक्षा मन्त्रालयको १० खर्बको ‘एसएसडीपी’ दिवास्वप्न मात्र हो भनेर आजै ठोकुवा गर्न सकिन्छ ।’ खासगरी शिक्षा मन्त्रालयले यसको नियमन नगर्दा समस्या बल्झेको र यो गलत परि पाटीलाई नसुधारे सम्म शिक्षाको सुधार नहुने उनको धारणा छ ।

अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी शिक्षकहरुले प्रत्यक्ष राजनीति गर्नु दुखद् भएको बताँछन् । यसले शिक्षकलाई नैतिकताको प्रश्न समेत उठाएको उनको भनाई छ । ‘विद्यालय नै बन्द गरेर अधिवेशनका सहभागि हुनु दुर्भाग्य हो । यस्तो जे मन लाग्यो त्यही गर्नेलाई शिक्षा मन्त्रालय र जिल्लाका शिक्षा कार्यालयहरुले कारबाही गर्नुपर्छ’ उनले भने, ‘देशको मेरुदण्ड शिक्षामा पद्धति नभएर अहिलेको समस्या देखिएको हो । हरेक पार्टीका हरेक शिक्षकहरु यसरी बर्षेनी कार्यक्रममा जाने गरेका छन् । यसलाई रोक्न शिक्षा मन्त्रालयले ठोस कार्यक्रम ल्याएर अनुगमन र कारबाही गर्नुपर्छ ।’

पद्धति नभएकै कारण अहिले शिक्षामा बेथिती आएको हो यसलाई सुधार्नु आवश्यक छ । विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा शिक्षकको राजनीतिक सहभागिताको कुरा शिक्षक संघ संगठनमै गएरै समाधान गर्नुपर्ने बताउँछन् । अहिले देशभरीमा २ सय बढी शिक्षकहरुलाई कांग्रेसले पार्टी प्रतिनीधि बनाएको बताउँदै उनले शिक्षकको मुख्य दायित्व के हा भन्ने कुरालाई शिक्षकहरुकै तहबाट समाधानको बाटो खोज्नुपर्ने उनले बताए । ‘कम्तिमा शिक्षाको यति ठूलो बहस चल्दा त अलिकति थाहा पाउनुपर्छ नि ! विद्यार्थीलाई नपढाएर पार्टीको राजनीति गर्न विद्यालय बन्द गर्नेले देश नविगारेर अरु कसले देश विगारेका छन् ?’ उनी भन्छन् ‘पढाउन छाडेर पार्टीको चुनाव लड्न जानु नै मुख्य कमजोरी हो, सामुदायिक शिक्षा ध्वस्त पार्न यस्ता गतिविधि काफि छन्, यस बारेमा शिक्षा मन्त्रालय सचेत हुनु जरुरी छ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल पठन पाठन रोकेर तथा विद्यालय नै बन्द गरेर अधिवेशनमा भाग लिने शिक्षकलाई कारवाही हुने बताउँछन् । ‘विद्यालय नै बन्द गर्नेलाई हामी फलो गछौँ । र यदि सत्य हो भने त्यस्ता विद्यालयलाई कारवाही पनि गछौँ’ उनले भने, ‘पहिला हामी बुझ्छौँ । सरकारले अनुगमन गर्छ । यदि विद्यालय नै बन्द गरेर र पठन पाठन रोकेरै पार्टीका कार्यक्रममा गएका फेला पार्यौं भने कारवाही हुन्छ ।’

तर, राजनीतिमा सहभागि भएर पठन पाठनमा अल्छि गर्ने शिक्षकलाई कारवाही गर्न यति सजिलो छैन । कारवाही गर्ने भन्ने वित्तकै शिक्षक संघ संगठनको विरोध खप्न शिक्षा मन्त्रालय तयार नभएका उदाहरण प्रसस्तै छन् । पढाउने भन्दा पार्टीगत कार्यक्रममा भाग लिने शिक्षकको पहुँच दलका माथिल्लो निकाय सम्म हुने हुँदा कारवाही गर्न मन्त्रालय हच्कदैँ आएको छ । 

यसका लागि संशोधन प्रकृयामा रहेको शिक्षा ऐनमा गरिएको शिक्षकले राजनीति गर्न नपाउने व्यवस्थाका विरुद्ध शिक्षकहरुको आवाज नै पछिल्लो उदाहरण हो । उनीहरुले आआफ्ना दलका सांसदहरु मार्फत उक्त ब्यवस्थामा संशोधन नै दर्ता गराएका छन् ।

शिक्षा ऐनमा संशोधन प्रस्ताव, महासंघ भन्छ शिक्षक दलको कार्यकर्ता हुनै पर्छ !

शिक्षकले राजनीति गर्न नपाउने बारेमा शिक्षामन्त्री गिरीराजमणी पोखरेल स्पष्ट छन् । आउँदा दिनमा अन्य दलबाट पनि यसै गरी दलका कार्यकर्ताका रुपमा शिक्षक निर्वाचित हुने घटना रोक्न उनका लागि जारी कांग्रेस अधिवेशन पहिलो खुट्किलो हुन सक्छ । दलमा आवद्ध भएर पार्टिकै कार्यकर्ताका रुपमा निर्वाचित शिक्षकलाई कारवाहि गर्ने उनको उक्त धारणा कार्यान्वयन गर्न उनी कत्तिको सफल हुन्छन् त्यो थाह पाउन भने केही समय पर्खिनै पर्ला !

प्रकाशित मिति २०७२ माघ २० गते

प्रतिक्रिया