Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

दालमोट र चिउराका भरमा एसएलसी परीक्षा 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । आगामी चैत १८ गतेदेखि हुने यस वर्षको प्रवेशिका परीक्षा सुरु हुने भए पनि भक्तपुरका विद्यार्थी विद्युत्भार कटौती र इन्धन अभावका कारण चिन्तामा छन् । नगरकोटफेदीस्थित क्वालिटी इङ्लिस स्कुलबाट प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी मेदिका वनलाई नतिजा बिग्रेला भन्ने चिन्ताले सताउन थालेको छ ।

उनी भन्छिन्,“ग्यास छैन, दाउरामा समयमै खाना पाक्दैन, कहिले भोकै त कहिले दालमोठ चिउरा खाएर स्कुल जानुपर्छ, फेरि लोडसेडिङले परीक्षाको नतिजा नै बिग्रेला भन्ने चिन्ता लाग्न थालेको छ ।” 

एक्टिभ इङ्लिस स्कुल थिमीका अम्बिका श्रेष्ठको गुनासो पनि उस्तै छ । पढाइको चाप बढेका बेलाम स्वस्थ्यकर खाना खान नपाउँदा बिरामी पर्न थालेको बताउँदै धेरै दिन ‘ड्राइ फुड’ कै भरमा स्कुल जानुपरेको उनी गुनासो गर्छिन् । 

खानासँगै विद्युत्भार कटौतीका मारले धेरै विद्यार्थी पिरोलिएका छन् । बिजुली कटौतीका कारण बिहान, बेलुका पढाइमा निकै असर गरेको सबै विद्यार्थीको गुनासो छ ।  प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी युनिक इन्टरनेसनल एकेडेमी कटुन्जेकी बबिता काफ्लेलाई पनि परीक्षाकै चिन्ता छ । दिउँसो स्कुलमा पढेको भन्दा बढी घरमा परीक्षाको तयारी गर्न नपाएको उनको भनाइ छ । 

सिर्जना नगरस्थित सिद्धार्थ एकेडेमीका सजन थापा मगर भन्छन्, “एसएलसी आइसक्यो, लोडसेडिङ बढेको बढ्यै छ ।  मैनबत्तीको उज्यालोमा पढ्नै सकिन्न, मैनबत्तीले टाउको दुख्ने र आँखा पोल्ने गरेकाले चाँडै सुत्न बाध्य हुनुपर्छ, परीक्षालाई असर पर्ने भो भनेर डर छ ।” 

विगतका वर्षमा प्रवेशिका परीक्षा सुरु हुनुभन्दा तीन महिनाअघिदेखि अधिकांश विद्यालयले छात्रावासमा राखेर परीक्षाको तयारी गराउने गरेकामा यस वर्ष इन्धन अभावका कारण देखाउँदै छात्रावासमा नराख्ने भएपछि पढाइ झन् प्रभावित हुने भएको हो । 

वागेश्वरी उमाविबाट परीक्षा दिने तयारीमा रहेका तपेन्द्र ढकाल विद्युत्भार कटौती निकै समस्या पारेको बताउँछन् । विद्युत्भार कटौती नभए विद्युत्मा खाना पकाउने पाइने र साँझ बिहान पढ्न पाइने भएकाले पढाइको दुश्मन नै ‘लोडसेडिङ’ भएको उनको भनाइ छ । 

कतिपय भूकम्पपीडितको टहरामा बत्ती समेत नहुने र अत्याधिक चिसो हुने भएकाले पढाइमा निकै प्रभावित भएको छ ।  घर भाडामा बस्नेले घरमा आगो बाल्न नपाइने र ग्यास र मट्टितेल नपाइने भएकाले प्रवेशिका दिँदै गरेको छोराछोरीलाई दालमोठ चिउरा खुवाएर विद्यालय पठाउनु परेको गुनासो अभिभावकको छ । 

इन्धन अभाव र विद्युत्भार कटौतीले परीक्षाको तयारीका लागि बनाइएकोे पढ्ने, लेख्ने तालिका नै ध्वस्त भएको बताउँदै भक्तपुर टेकापुखु मेधा माविकी सुजिना श्रेष्ठ भन्छिन्–“लोडसेडिङका कारण विद्यालयबाहेक घरमा थप अभ्यास गर्न नपाउँदा आमाबाबु पनि चिन्तामा पर्नुभएको छ ।” 

हिमाल एकेडेमी गुन्डुका विवेक गाइसी, प्रेसस इङ्लिस स्कुल बालकोटका अरुण भण्डारी, पद्म उमावि दरबार स्क्वायरकी रुविसा न्यौपाने र मनोरम बोर्डिङ स्कुल कटुन्जेका प्रदीप गुमाञ्जुको चिन्ता पनि नतिजा बिग्रेला भन्ने नै छ । 

चिकित्सक, इन्जिनियर बन्ने लक्ष्य रहेका विद्यार्थीको नतिजा बिग्रेर लक्ष्य अनुसार पढ्न नपाइला भन्ने चिन्ता रहेको एनप्याब्सनका अध्यक्ष जिबी खड्का बताउँछन् ।

रासस 

 

प्रतिक्रिया