Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

साझा प्रकाशनलाई मुख्यसचिवले बचाउँलान ?

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । ‘साझा प्रकाशन बचाउ अभियान’ले सो संस्थाका लागि सरकारले अनुदान दिनुपर्नेलगायतका विषयमा मंगलबार मुख्यसचिव डा. सोमलाल सुवेदीलाई ध्यानाकर्षण गराएको छ। 

 पूर्वमन्त्रीहरू प्रदीप नेपाल, दीनानाथ शर्मा, बलदेव मजगैयाँ, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, साहित्यकार डा. कृष्णहरि बरालसहितको प्रतिनिधिमण्डलले मुख्यसचिव सुवेदीलाई आर्थिक सहयोग र प्रकाशनका मौज्दातमा रहेका विभिन्न कृति सरकारी निकायमा खरिद गराउन छलफल गरेको हो। 

 मुख्यसचिव डा सुवेदीले १०४ वर्षको प्रकाशनको इतिहास जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सो संस्थालाई रु ४० करोड ऋण उपलब्ध गराउन निर्देशन दिनुभएको र सो प्रस्ताव शिक्षा र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा आएपछि निर्णय हुने जानकारी गराए। 

गत वर्षको फागुनबाट सुरु भएको सो अभियानअन्तर्गत अभियन्ताले सरोकारवाला निकायसँग भेट तथा छलफल जारी राखेको छ।  यसअघि अभियानले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग छलफल गरी स्थानीय निकायका २१७ नगरपालिकामा साझाका मौज्दात पुस्तक खरिद गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सो प्रकाशनसँग करिब रु २२ करोडको पुस्तक मौज्दात छ। 

रासस 

 

प्रतिक्रिया