Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

सर्त मञ्जुर गर्दै दर्ता प्रकृयामा भारतीय विद्यालय

मंगलबार, १९ माघ २०७२

काठमाडौं - विना अनुमति सञ्चालनमा रहेका भारतीय विद्यालयहरु अनुमतिका लागि मन्त्रालयले तोकेको सर्त मञ्जुर गर्दै दर्ता प्रकृयामा सहभागि भएका छन् । वर्षौ देखि सञ्चालनमा रहेका भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी (सीबीएसई) आवद्ध संस्थाहरुलाई एक महिनाको म्याद दिएर दर्तामा आउन शिक्षा मन्त्रालयले सूचना जारी गरेपछि उनीहरुले दर्ता प्रकृया शुरु गरेका हुन् ।

नेपालमा सञ्चालित एक दर्जन यस्ता विद्यालय मध्ये मंगलबार सम्ममा ३ वटा विद्यालयले तोकेको सर्त मान्दै दर्ता प्रकृयामा सहभागि भएको मन्त्रालय श्रोतले जनाएको छ । अहिले सम्म रुपिज इन्टरनेसनल स्कुल बाफल, राई स्कुल जोरपाटी र डीएभी सुशील केडिया विश्वभारती स्कुल धोवीघाटले दर्ताका लागि प्रकृया शुरु गरेका छन् ।

राईले नेशनल ईष्टिच्युट अफ ओपन स्कुलिङ् र राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान गरी दुई वटा संस्थाका नाममा दर्ता प्रकृया शुरु गरेको छ ।

उनीहरुले १ देखि १२ कक्षा सम्म सञ्चालनका लागि आवेदन दिएका छन् । आवेदन दिनु अघि मन्त्रालयले तोकेको धरौटि बुझाएको भौचर सहित सम्पूर्ण व्यवस्था पालना गरेको कागजमा सहि छाप समेत गरेका छन् ।
विदेशी मुलुकमा सञ्चालनमा रहेको कक्षा १ देखि कक्षा १२ सम्मको कुनै शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहेमा शिक्षा मन्त्रालयले १५ लाख रुपैंया सम्म बुझाउनु पर्ने ब्यवस्था गरेको छ । उक्त रकम झिक्न वा धरौटी राख्न नपाइने गरी संस्थाकै नाममा दाखिला गर्नु पर्ने ब्यवस्था छ ।

अनुमति विनै नेपालमा सञ्चालित भारतीय विद्यालयहरुलाई अनुमति लिन शिक्षा मन्त्रालयले एक महिनाको अवधि निर्धारण गरेर प्रकृया शुरु गरेको हो ।

भारतीय विद्यालयलाई एक महिने म्याद, झ्याल ढोकाको समेत बिवरण बुझाउनु पर्ने

विदेशी मुलका विद्यालयलाई कानुनी दायरामा ल्याउन पटक पटक प्रयास भए पनि  भारतीय दवावका कारण हुन सकेको थिएन । तर, यस पटक गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएसँगै अनुमति विना विदेशी कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

स्वागत योग्य नियमन

उक्त प्रतिबद्धताकै कारण मन्त्रीले शिक्षा सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेर प्रावधान तय गराएका थिए ।

भारतीय बोर्डका विद्यालयलाई कानूनी दायरा, दवाव झेल्दै प्रतिवेदन तयार

विदेशी विद्यालयहरुलाई नीयमन गर्ने बारे मन्त्रालयले तयार गरेको उक्त प्राधानलाई मन्त्री पोखरेलले गत पुस २२ गतेको मन्त्रीपरिषद् बैठकबाट पारित गराएर यो प्रकृया शुरु गरेका हुन् ।

अहिले दर्ता प्रकृयामा आएका तीनवटा सहित मोडर्न इण्डियन चोभार, चाँदबाग स्कुल बाँसबारी, आलोक विद्याश्रम मावि गौशाला, डीएभी रुक्मिनी बनारसी केडिया वीरगञ्ज, डेडराज सिवाली देवी तोदी डीएभी विराटनगर, दिल्ली पब्लिक स्कुल धरान र विराटनगर, नेपाल–भारत मैत्री विद्यायल पोखरा, दामोदर एकेडेमी महोत्तरी सीबीएसई बोर्डबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित छन् ।

प्रकाशित मिति २०७२ माघ १९ गते

प्रतिक्रिया