Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षक देखाउँछन् राजनितिक पहुँच, दरवन्दी भएका विद्यालय खाली

मंगलबार, १९ माघ २०७२

पर्सा - गाउँका विद्यालयमा दरवन्दी भएका शिक्षकहरु राजनीतिक पहुँचका आधारमा शहर केन्द्रित हुँदा पर्साको ग्रामिण भेगका विद्यालयको पठनपाठन प्रभावित भएको छ । यस्ता शिक्षकहरु विभिन्न राजनितिक दल तथा तिनका संगठन र गैरसरकारी संस्थामा सकृय भई काम गर्दै आएका छन् । यस्ता शिक्षकहरु पहुँचका आधारमा 'मिलाएर' शहरमै बस्ने गरेका कारण ग्रामिण भेगका विद्यालयहरुमा पठन पाठन हुन नसकेको विरञ्चिवर्वाका अभिभावक राम अयोध्या राउत गुनासो गर्छन् । जिल्ला शिक्षा कार्यालयले दरवन्दी मिलान नगर्दा ग्रामिण भेगका विद्यालयमा शिक्षक छैनन् ।

पर्साको भिखमपुर पिपरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बिगत एक वर्ष देखी दरवन्दी अनुसारका शिक्षक नहुँदा पठन पाठनमा असर परेको छ । उक्त विद्यालयमा समाजिक, अंग्रेजी र विज्ञानको कक्षा संचालन हुन सकेको छैन । यसैगरि विरञ्चिवर्वामा रहेको ग्रामिण क्षेत्रकै एक मात्र कन्या माविमा पनि मावि तहको शिक्षकको अभाव छ । मधेश आन्दोलनले प्रभावित भएको पठनपाठन शिक्षक अभावले थप प्रभावित भएको अभिभावकको गुनासो छ ।

जिल्ला शिक्षा कार्यालयबाट खटिएका श्रोत व्यक्ति र विद्यालय निरिक्षकहरु पनि राजनिती र गैरसरकारी संस्थामा लागेका शिक्षकहरुसंग मिलेका कारण यस्तो समस्या देखिएको रंगपुर टाडीका अभिभावक चिरन्जिवी यादव बताउँछन् ।

जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले दरवन्दी मिलानमा ढिलाई भएकोले दरबन्दी अनुसारको शिक्षक व्यवस्थापन हुन नसकेको स्विकार गर्दै यो समस्या चाडै समाधान हुने बताए ।

प्रकाशित मिति २०७२ माघ १९ गते

प्रतिक्रिया