Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

मर्यादा भुल्दै कांग्रेस अधिवेशनमा शिक्षकहरु, पार्टि चलाउलान् की विद्यालय ?

मंगलबार, १९ माघ २०७२

- श्रीधर उपाध्याय / नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गतको वडा, गाउँ तथा नगर अधिवेशनमा शिक्षकहरुको सहभागिता र उनीहरु निर्वाचित हुने क्रम जारी छ ।

नवलपरासीको गैंडाकोट नगरपालिकामा मात्रै सामुदायिक विद्यालयका ४ जना प्रधानाध्यापक विभिन्न पदमा निर्वाचित भएका छन् । गैँडाकोट १ मा रहेको नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी गैँडाकोट २ मा रहेको महेन्द्र स्मारक निमाविका प्रधानाध्यापक शिवराज काफ्ले गैँडाकोट वडा नं. १ को वडा सभापतिमा निर्वाचित भएका छन् । गैँडाकोट ७ मा रहेको नारायणी माविका प्रधानाध्यापक नारायण पौडेल पनि काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए । यस्तै अमरापुरीमा रहेको पञ्च ज्योती निमाविका प्रधानाध्यापक राम प्रकाश सिग्देललाई पनि पेशा भन्दा पार्टिले नै तान्यो । उनी पनि गैँडाकोट १७ बाट नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको लागि क्षेत्रीय प्रतिनिधिका लागि चयन भए । 

यी चार प्रधानाध्यापक मात्र होइन विभिन्न विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षकहरु विभिन्न पदमा निर्वाचित भएका छन् ।  नगर सचिवमा निर्वाचित मुकुन्द पौडेल, नगर सदस्यमा निर्वाचित तिर्थराज रिमाल पनि कार्यरत शिक्षक हुन् । पौडेल कलेज तहमा अध्यापन गर्छन् भने रिमाल सामुदायिक विद्यालयबाट सेवा निवृत्त भई निजी उच्च माविमा अध्यापनरत छन् । यस्तै गैँडाकोट ९ बाट क्षेत्रीय प्रतिनिधि खगराज आचार्य र वडा नं. १ की महिला क्षेत्रिय प्रतिनिधि रमिला ढकाल पनि शैक्षिक संस्थामा आवद्ध छन् । गैँडाकोट १ को नेपाल राष्ट्रिय शम्सेर आदर्श माविका प्रधानाध्यापक भट्टराईसँगै  सोही विद्यालयका अर्का शिक्षक श्याम सुन्दर पराजुली समेत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि भट्टराईले फेसबुकमा स्टाटस राख्दै कायकर्तालाई बधाई नै दिए 'नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा गैंडाकोट १ बाट निर्वाचित हुन सहयोग गर्नु हुने सम्पूर्ण सदस्य साथीहरुमा आभार प्रकट गर्दछु ।' उनको योजना क्षेत्र र जिल्लासम्म कार्यकारी पदमा पुग्ने छ । विद्यालयकै प्रधानाध्यापक यसरी राजनीतिक दलको  कार्यकारी पदमा निर्वाचित भएपछि उनले पार्टि चलाउलान् की विद्यालय ? गैँडाकोट १ को कांग्रेस सभापति भएपछि काफ्लेले पनि फेसबुकमा स्टाटस लेख्दै कार्यकर्तालाई बधाई दिए 'आइ वाण्ट थ्याङ्कस अल माइ गैँडाकोट वान फ्रेण्ड्स हु भोट मि ।'

शनिबार सकिएको नेपाली काँग्रेस गैँडाकोट नगर समितिको निर्वाचनमा उम्मेद्वारी दिएका मध्ये करिब दुई दर्जन शिक्षक रहेका थिए । शिक्षकहरु नगर सचिवदेखि वडा सभापति, नगर सदस्य र क्षेत्रीय प्रतिनिधिसम्म बन । करिब आधा महिना चुनावी प्रचारमा विताएका ती शिक्षकहरु क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र केन्द्रीय अधिवेशनसम्म विद्यालयमा अनुपस्थित हुने निश्चित छ  । निर्वाचित भैसके पछि पार्टीका आन्तरिक बैठकदेखि विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा कति अनुपस्थित होलान् ? यसले विद्यार्थीको पठनपाठनलाई कति असर पार्ला भन्ने तर्फ शिक्षा कार्यालयले कुनै ध्यान दिएको छैन ।

नवलपरासीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले यस विषयमा आफूले केही भन्न नसक्ने बताए । उनले नीति नियम बनि नसकेको र देश भरिनै शिक्षकहरु राजनीतिमा सक्रिय रहने परिपाटि रहेकाले यो केन्द्रीय समस्या रहेको बताए । शिक्षकहरु राजनीतिक दलको कार्यकारी पदमा सहभागि हुने यस समस्याको निवारणका लागि नेपाल सरकारले आवश्यक नीति नियम बनाउनु जरुरी रहेको उनको भनाई छ ।

संशोधन प्रकृयामा रहेको शिक्षा ऐनमा शिक्षकको आचरण अन्र्तगत दलको सदस्य हुन नपाईने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्था हटाउन शिक्षक महासंघले लविङ् गरिरहेको छ ।

शिक्षा ऐनमा संशोधन प्रस्ताव, महासंघ भन्छ शिक्षक दलको कार्यकर्ता हुनै पर्छ !

मुल ऐनमा दफा १६ ङ मा उल्लेख भएको शिक्षकको पदीय आचरणमा शिक्षक वा कर्मचारी राजनीतिक   दलको सदस्य हुन नपाउने उल्लेख भएकोमा त्यसलाई हटाउन उसको माग छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने सार्वजनिक अभिब्यक्ति दिदैं आएका छन् । उनले अनुगमन गरी पार्टीमा आवद्ध शिक्षकलाई कारवाही गरिने समेत चेतावनी दिएका थिए । तर, नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गतको वडा, गाउँ तथा नगरअधिवेशनमा धेरै शिक्षकहरु निर्वाचित भएका छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु देखि निजी विद्यालय तथा कलेजका शिक्षकसम्म कार्यकारी पदमा निर्वाचित भएका छन् ।

राजनीतिक दलको कार्यकारी पदमा निर्वाचित भएका शिक्षकहरुले कसरी पढाउलान् ? यसले शिक्षकको काम पढाउने कि राजनीति गर्ने भन्ने प्रश्न उठाएको छ ।

विद्यालयका प्रधानाध्यापक देखि शिक्षकहरुले राजनीतिक दलको झण्डा बोक्ने कार्यले समाजमा गलत नजिर र नकारात्मक सन्देश गएको शिक्षाविद्हरुकोे तर्क छ । शिक्षकहरु पार्टीको कार्यकारी पदमा पुगेकोमा नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष केशव प्रसाद भट्टराईले सार्वजनिक रुपमै असन्तुष्टि जनाईसकेका छन् ।

कांग्रेस महाधिवेशन प्रकृयामा सहभागि शिक्षक प्रति

प्रकाशित मिति २०७२ माघ १९ गते

प्रतिक्रिया