Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्रधानमन्त्रीले भने ‘अब स्कुलहरु बन्द हुँदैनन्’

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, १९ माघ । नाकाबन्दी र इन्धन संकटले विद्यार्थीहरुको अध्ययन अध्यापनका असर परिरहेका बेला प्रधानमन्त्री केपी ओलीले अब त्यो हट्ने सुनाए।  ‘अब स्कुल बन्द गरेर र समयमा पाठ्यपुस्तक नभएर स्कुल बन्द हुने दिन गए,’ उनले भने, ‘मैले सम्बन्धित निकायलाई भनिसकेको छु, स्कुल खोल्न र पाठ्यपुस्तक पुर्याउन।’ 

सोमबार काठमाडौंमा राष्ट्र र राष्ट्रियताका लागि ‘बाल राष्ट्रिय गीत सम्मेलनु उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मेरा बालबालिकाका लागि खाने, बस्ने, शिक्षा र स्वास्थ्य जस्ता आवश्यकताका लागि सरकार सक्रियतासाथ अगाडि बढ्छ।’ 

वयोवृद्ध राष्ट्रकवि माधवप्रसाद घिमिरे र इतिहासविद सत्यमोहन जोशीजस्ता व्यक्तित्वलाई झन्डै दुई घन्टा कुराएर ढिला आएका प्रधानमन्त्री ओलीले बढी समय राष्ट्रिय एकताका कुरामा जोड दिए।

‘यो देश एकजुट रहनेछ, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ,’ उनले थपे। यो देश नटुक्रिने संकेत गर्दै तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले मुलुकमा संकट आए पनि नेपाल र नेपाली एकजुट रहने उल्लेख गरे।

नेपाल उपनिवेशको युगमा स्वतन्त्र राष्ट्र रहेको भन्दै यो देश अनवरत रुपमा स्वाधीनता कायम गरेर अगाडि बढ्ने उनले औंल्याए।  यो देश सगरमाथाको देश, यो देश बुद्धको देश भएकाले पनि लोभबाट होइन, त्याग, शान्तिबाट र मानवताबाट परिवर्तन गर्नुपर्ने जिकिर प्रधानमन्त्री ओलीले गरे। बुद्धले ज्ञान पाएर नै घरबाट बाहिर निस्केको उल्लेख गर्दै उनले बुद्धको ज्ञानप्राप्ति अरु देशमा नभएको प्रचार गर्नुपर्ने औंल्याए।

उनले सम्बोधन क्रममा सम्मेलनमा भाग लिन आएका विद्यार्थीसँग भने, ‘के नेपाल झुक्न चाहन्छ?’  विद्यार्थीहरुले जवाफ दिए, ‘झुक्दैन।’ अझ जोशिएर प्रधानमन्त्रीले विद्यार्थीतिरै फर्किएर भने, ‘नेपाली शिर झुक्न चाहँदैन। नेपाल सबैको मित्र बन्न चाहन्छ, कसैको दासता चाहँदैन।’  

नेपाल एउटा माला भएको भन्दै उनले थपे, ‘यो माला कसैले तोड्न सक्दैन, कसैले यसमा विष छर्किए पनि, त्यो विष लाग्दैन ।’  ओलीले बेथिति घुसाउन खोजिएको उल्लेख गर्दै उनले आजको पिढीले त्यो नमानेको र भोलिको पिढीले पनि नमान्ने सुनाए। आफ्नो जिम्मेवारी देशका जनता र बालबालिकाप्रति रहेको भन्दै उनले पटकपटक बालबालिकातिरै फर्केर हुटिङ थापे। बालबालिकाले जति चिच्याउँथे, उनी त्यति नै जोशिएर बोले। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया