Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षाका पण्डितले भने ‘परामर्शदाताले जालझेल गर्न छाड्नुपर्छ’ 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, १९ माघ । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले विदेश जाने विद्यार्थीलाई परामर्श दिने परामर्शदाताले जालझेल गर्न छाड्नुपर्ने बताएका छन् । 

शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठानले संयुक्त रुपमा सञ्चालन गरेको शैक्षिक परामर्श दाताको क्षमता अभिवृद्धि तालिम कार्यक्रमको सोमबार उद्घाटन गर्दै उनले परामर्शदाता व्यवसायीले सही परामर्श नदिँदा विदेश पुगेका धेरै नेपालीले दुःख पाएका छन्, विद्यार्थीले विदेशमा के पढ्न सक्छन्, त्यो मूल्याङ्कन गरेर परामर्श दिनसक्ने हुनु आवश्यक रहेको बताए । 

उनले भने – “अहिले देशका युवा पुस्तालाई ठूलै रोग लागेको छ, विदेश जानैपर्छ भन्ने मान्यता विकास भएको छ, नेपालमा पढेर, काम गरेर खान सकिन्न भन्ने लागेर बिदेसिने बढेका छन्, उनीहरुलाई राम्रो परामर्शको खाँचो छ ।” 

कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोद आचार्यले मन्त्रालयमा दर्ता भएका ३७० शैक्षिक परामर्श दाता संस्थाका ७४० जनालाई परामर्श तालिम दिएर दक्ष बनाइने बताए ।  तालिम विभिन्न समूहलाई गरी आगामी असोजसम्म दिइने छ । तालिममा शैक्षिक परामर्शदाताले पालना गर्नुपर्ने ऐन, नियम, आचारसंहिता, विधि प्रक्रियाका बारेमा जानकारी दिइने छ । तालिम पोखरा र चितवनमा पनि सञ्चालन गरिने भएको छ । 

रासस 

 

प्रतिक्रिया