Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यार्थीको क्षमता बढाउन ‘ध्यान शिक्षा’ शुरु 

सोमबार, १८ माघ २०७२

काठमाडौँ, १८ माघ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र गुरुले ध्यान गरेको त थाहा छ । तर विद्यार्थीले ध्यान गरेको कमैलाई थाहा होला । त्यसमाथि विद्यालयमै ध्यान गर्ने गरिन्छ भन्दा नौलो लाग्न सक्छ । तर अब चितवन रत्ननगरको एउटा विद्यालयले  ‘ध्यान शिक्षा’ सुरु गरेको छ । 

विद्यार्थीको क्षमता बढाउने र उनीहरुलाई फुर्तिलो पार्न विद्यालयमा विद्यार्थीलाई दैनिक ध्यान गराउन थालिएको हो । यसरी ध्यान शिक्षा दिने विद्यालय भने चितवनको खैरहनीमा रहेको सैनिक आवासीय महाविद्यालय हो ।  महाविद्यालयका ध्यान शिक्षक भिष्मनाथ तिवारीले विद्यालयमा नियमित ध्यान शिक्षा सुरु भएको जानकारी दिए । 

विज्ञानले समेत पुष्टि गरेको र ध्यानका कारण विद्यार्थीहरुको स्मरण शक्तिसमेत वृद्धि भएको पुष्टि भएकाले यो अभ्यास विद्यालयमा थालिएको शिक्षक तिवारी बताउछन् ।  यही शैक्षिक सत्रबाट सुरु भएको ध्यान शिक्षामा अहिलेसम्म दुईसय जना सहभागी भइसकेका छन् । 

कक्षा ८ मा विद्यार्थी राजीव महत्तोलाई ध्यानमा बसेपछि स्मरण शक्ति बढेको महसुस भयो । पहिले परीक्षामा आत्तिने, डर लाग्ने, सानो गल्ती मात्रै भएपनि डराउने स्वभावमा परिवर्तन आएको पनि उनले बताए ।  महर्षि महेश योगीले प्रतिपादन गरेको यो ध्यान अभ्यास सुरुमा ७ दिनको हुन्छ । 

अभ्यासका क्रममा ध्वनिको माध्यमबाट १५ देखि २० मिनेट विद्यार्थीलाई ध्यानमा सहभागी गराउने र मन एकाग्र पार्ने कोसिस हुन्छ । नेपाल ऋषि महर्षि वैदिक फाउण्डेसनको अनुमतिमा महाविद्यालयले ध्यान शिक्षा थालेको हो । नेपालका ८ वटा सैनिक आवासीय महाविद्यालयले यो अभ्यास थालेको छ । 

यस्तै  काठमाडौँ, दाङ लगायत तीनवटा विद्यालयले पनि अभ्यास सुरु गरेको जनाइएको छ । नेपालमा जम्म ११ वटा कुलमा यो अभ्यास थालिएको तिवारीले जानकारी दिए ।  चितवनको खैरहनीस्थित सैनिक आवासीय महाविद्यालयले विद्यार्थीलाई प्रशिक्षण दिएपछि अहिले पहिलो र दोस्रो घण्टीको बीचमा र अन्तिम घण्टीमा नियमित १०–१५ मिनेट ध्यान शिक्षा दिने गरिन्छ । 

अहिले ८ कक्षाका ८० जना र अन्य कक्षाका १११ जना विद्यार्थीले शिक्षा लिएका छन् । उनीहरुले नियमित रुपमा ध्यान गर्न थालेको थालेका छन् ।  व्यावहारिक शिक्षामा जोड दिँदै आएको यो विद्यालयले यो वर्षदेखि पूर्ण डिजिटल कक्षा सञ्चालनको तयारी गरिरहेको प्राचार्य विमल कुमार क्षेत्रीले जानकारी दिएका छन् ।  

रासस 

 

प्रतिक्रिया