Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयले आङ्गिक क्याम्पस चलाउने 

शनिबार, १६ माघ २०७२

काठमाडौँ, १६ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले कास्कीको पुरनचौरमा यसै शैक्षिक सत्रदेखि आङ्गिक क्याम्पस सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको आफ्नै क्याम्पसबाहेक आङ्गिक रुपमा सञ्चालन गर्न लागिएको यो पहिलो हो । विश्वविद्यालयले सम्बन्धन समेत हालसम्म कुनै क्याम्पसलाई दिएको छैन । 

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालकाअनुसार यसै शैक्षिक सत्रमा पुरनचौरमा जनस्तरबाट आर्थिक सङ्कलन गरी कृषि विषय पढाउनका लागि खोलिएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि स्नातकमा ५० जना विद्यार्थी पढाउने तयारी भएको छ । 

यसवर्ष रामपुरमा कृषि स्नातकमा तीन हजार १५० विद्यार्थीले आवेदन दिएका थिए जसमध्ये एक हजार ३०० जना उत्तीर्ण भएका छन् । तीमध्ये रामपुरमा १६५ जनाले मात्रै पढ्ने अवसर पाएका छन् । मेरिटका आधारमा थप ५० जनालाई पुरनचौरमा पढाउने योजना विश्वविद्यालयको रहेको उनले बताए । 

दुई महिना ढिलो भएपनि फागुनदेखि पुरनचौरमा कक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति ढकालले बताए ।  क्याम्पस सञ्चालनका लागि अर्थ मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरिसकेको छ । 

विश्वविद्यालयले चार वर्षका लागि रु ४५ करोड माग गरेको थियो जसमध्ये यस आर्थिक वर्षका लागि रु १५ करोड माग गरिएकोमा रु पाँच करोड विनियोजन भएको उनले बताए । 

पुरनचौरमा युएनडिपिको सहयोगमा १४ कोठे दुईतले भवन बनिसकेको छ । विश्वविद्यालयको सभाले पुरनचौरमा आङ्गिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरिसकेको छ । उपकुलपति ढकालकाअनुसार प्राध्यापक मोहदत्त शर्माको संयोजकत्वमा चारवर्षे कार्ययोजना तयार गर्न समिति बनाइएको छ । 

केही दिनभित्रै समितिले प्रतिवेदन पेस गरेपछि सोही बमोजिम निर्णय गरी पुरनचौरमा आङ्गिक क्याम्पस सञ्चालनमा ल्याइने उनले बताए ।  पुरनचौरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनका लागि स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर आर्थिक रकम सङ्कलन समेत गरेका थिए । क्याम्पस भवन नजिकै ४० रोपनी जग्गा समेत खरिद गरिसकेका छन् । 

यसैबीच, विश्वविद्यालयले कृषि, भेटनरी र वनको पढाइका लागि सम्बन्धन दिन आह्वान गरेका क्याम्पसलाई पनि सम्बन्धनका लागि गृहकार्य भइरहेको जनाएको छ । २१ वटा निजी क्याम्पसले सम्बन्धनका लागि आवेदन दिएका छन् । कृषि पढ्ने विद्यार्थीको सङ्ख्या दिनानुदिन बढ्दै गएको भएपनि क्याम्पसको अभावमा पढ्न पाएका छैनन् । 

रासस 

 

प्रतिक्रिया