Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

मृगौला फेर्न विद्यार्थीको हारगुहार !

शुक्रबार, १५ माघ २०७२

काठमाडौँ, १५ माघ । बझाङको दहबगर गाविस–५ घर भई डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र नमूना उच्चमाविमा कक्षा ११ मा अध्ययनरत् धनबहादुर बोहराका दुईवटै मृगौलाले काम नगरेपछि उपचारका लागि आर्थिक सङकलनका लागि उनले सबैलाई गुहारेका छन् । 

धनबहादुरका बुवा मनुवा बोहराले अहिले आफ्नो छोराको उपचारका लागि आर्थिक सङ्कलनका लागि गुहारेका छन् ।  आफ्नो एक मात्र छोरा धनबहादुर बोहराको दुबै मृगौलाले काम गर्न छोडेकाले छोराको उपचारका लागि आर्थिक सङ्कलनका लागि लागिपरेको उनले बताए । 

आफ्नो सम्पत्तिबाट छोराको उपचार सम्भव नभएकाले सबैसँग आर्थिक सहयोगका लागि लागिपरेको हुँ, उनले भने “आर्थिक अभावमा एकमात्र छोराको ज्यान बचाउन नसकिने अवस्था रहेको छ ।” आर्थिक सहयोगका लागि सुदूरपश्चिमका सबै जिल्लामा पुगेको उनले बताए । 

विसं २०६९ मा आमाको मृगौला फेरेर पनि काम नगरेकाले मृगौला प्रत्यारोपणका लागि रु नौ लाख लाग्ने भएकाले आर्थिक सहयोगका लागि बोहराले सबैसँग आग्रह गरेका हुन् ।  धनबहादुर बोहराको मृगौला प्रत्यारोपणका लागि सहयोग गर्ने महानुभावहरुले राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखाको खाता नम्बर ४११००१६१९०१० र राष्ट्रिय वाणिज्य बैंकको महाराजगन्ज शाखाको खाता नम्बर ११५००३६११२१० मा रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन् ।

आफ्नो छोराको उपचारमा अहिलेसम्म रु ३३ लाख खर्च भइसकेको र बाँकी ९ लाख २०७३ साल चैत १२ गतेसम्म जम्मा गर्नुपर्ने भएकाले आफूले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरिरहेको बोहराले बताउनुभयो । 

२१ वर्षीय धनबहादुर बोहरा विसं २०६९ देखि वीर अस्पतालमा उपचाररत रहेका छन् । 

रासस

प्रतिक्रिया