काठमाडौँ, १४ माघ । हुम्लाको लिमी गाविसमा साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन् । हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीन वटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ । जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाइ हुन्छ, न अनुगमन नै । अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन् । विद्यालय खुलेको ३६ वर्ष पुगिसकेको छ ।
गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए । लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । ती बस्तीका लागि आव ०३५/३६ मा तीन वटा प्राथमिक विद्यालय स्थापना भएका थिए । तिनमा २/२ शिक्षकको दरबन्दी छ । ‘तीन वटै गाउँमा १/२ जनाले आठ कक्षा
उत्तीर्ण गरेका छन् । उनीहरू काठमाडौंमा अध्ययन गरी फर्केका हुन्,’ लामाले भने, ‘विद्यालय छ भन्नु मात्र । गाउँले साक्षर भएबाहेकको उपलब्धि छैन ।’ लिमीका मध्यम र उच्च आर्थिक हैसियतका परिवारले आफ्ना छोराछोरी काठमाडौंका सुविधा सम्पन्न विद्यालयमा पढाउने गरेका छन् । निम्न आय भएकाहरूले मात्र गाउँमै पढाउँछन् ।
कतिपयले धार्मिक शिक्षा पढाउन गुम्बामा पठाएका छन् । काठमाडौंका सुविधायुक्त विद्यालयमा पढेका विद्यार्थी गाउँ फर्किन चाहँदैनन् । त्यसको साटो वैदेशिक रोजगारीमा जान्छन् । गाउँमा रोजगारीको अवसर नभएको, सामान्य भौतिक सुविधाबाट पनि वञ्चित रहनुपर्ने र स्थानीय उत्पादनले समेत जीवन निर्वाह गर्न नसकिने भएकाले शिक्षित युवा गाउँ फर्किंदैनन् ।
स्थानीय विद्यालयमा विद्यार्थी नियमित आउँछन्, शिक्षकको अत्तोपत्तो हुँदैन । हुम्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुने भए पनि जेठसम्म हिउँले बाटो अवरुद्ध हुनाले शिक्षक ढिलो गाउँ आइपुग्ने गरेको स्थानीय कन्जोकनिमा तामाङले बताए । तर, लामो समय बस्दैनन्, फर्किहाल्छन् । दरबन्दीका शिक्षकले नपढाए पनि गाउँका विद्यालय भने नियमित खुल्छन् ।
उनीहरूलाई काठमाडौंमा पढेर आएका युवाले पढाउने गरेको तामाङले जानकारी दिए । निजी स्रोतका यस्ता शिक्षकलाई अभिभावकले पैसा उठाएर तलब सुविधा दिने गरेका छन् । तामाङका अनुसार निजी स्तरबाट पढाइ हुने भएकाले कात्तिकमा खेतपाती थन्क्याएपछि गरिने गाउँ बैठकका लागि १५ दिन मात्र बिदा दिने चलन छ । विद्यार्थीको चाप बढ्न थालेपछि हल्जी गाउँमा काठमाडौंमा ८ कक्षा पढेर फर्केका खेन्डाप तामाङले बोर्डिङ स्थापना गरेका छन्, जसमा अंग्रेजी माध्यममा पढाइ हुन्छ ।
स्थानीय विद्यालयमा पाँच कक्षासम्म पढाउने अनुमति छ, पढाइ भने तीन कक्षासम्म मात्र हुने गरेको जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताए । ‘सम्पन्न परिवारले सहरका विद्यालयमा पढाउन लैजाने र निम्न आय भएकाहरूले निस्शुल्क धार्मिक शिक्षाका लागि गुम्बामा पुर्याउने गरेका रहेछन्,’ उनले भने, ‘गाउँबाट लान नसक्ने अभिाभावकले पढाइ छुटाएर मजदुरीमा लगाउने गरेको पाइयो ।’
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया