Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिविमा स्ववियु चुनाव गर्न क्रान्तिकारीको माग

विहीबार, १४ माघ २०७२

काठमाडौँ, १४ माघ । सत्तारूढ एमाओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर निर्माणसहित यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरेको छ । त्रिवि उपकुलपति प्राध्यापक तीर्थराज खनियाँलाई बुधबार भेट गरी १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

‘सरोकारवालाहरूको सहभागितामा एकेडेमिक क्यालेन्डर निर्माण गरी लागू गरियोस्,’ संगठनका अध्यक्ष रमेश मल्लद्वारा हस्ताक्षरित मागपत्रमा छ, ‘त्रिविको एकेडेमिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति किटानसहित सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन गरियोस् ।’ त्रिविलगायत अन्य विश्वविद्यालयमा सात वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।

राष्ट्रिय भूमिकामा रहेका विद्यार्थी संगठनहरूको त्रिवि सभामा संस्थागत प्रतिनिधित्वका लागि ऐन संशोधन गरी स्ववियु निर्वाचनमा प्राप्त मतका आधारमा संगठनहरूको प्रतिनिधित्वको मापदण्ड निर्माण गरिनुपर्ने भनेको छ ।

त्यसैगरी त्रिवि सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट प्राध्यापक शिक्षक स्थायी गर्न लागेको हालको विज्ञापन रद्द हुनुपर्ने माग गरेको छ । यस्तै विश्वविद्यालयका स्थायी र करारका सबै प्राध्यापक तथा कर्मचारीको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गरियोस्’ भन्नेसमेत छ ।

हाल कायम रहेको राजनीतिक भागबन्डाको विकृत संस्कृति तत्काल अन्त हुनुपर्ने उल्लेख गर्दै मागपत्रमा छ, ‘विश्वविद्यालयका पदाधिकारीहरू राजनीतिक तवरले हुने नियुक्ति प्रचलित ऐन संशोधन गरी प्राज्ञिक प्रतियोगिताका आधारमा योग्य र सक्षम व्यक्ति नियुक्त हुने कानुनी व्यवस्था गरियोस् ।’

प्राध्यापकहरूलाई नियमित रूपमा क्याम्पसमा रहने अवस्था सिर्जना हुनुपर्ने, निजी र अन्य क्षेत्रमा संलग्न, अनियमित र अनुपस्थित प्राध्यापकरशिक्षकहरूलाई सेवाबाट हटाउने नीति लिन भनेको छ ।

गत वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त उच्च शिक्षाका सबै संस्थाको यथाशीघ्र पुनर्निर्माण र नवनिर्माण गरिनुपर्ने माग गरेको छ । ‘मधेस आन्दोलन र भुकम्पका कारण प्रभावित भएको शैक्षिक गतिविधिलाई पुनरुद्धारका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस्,’ विज्ञप्तिमा छ ।

आंगिक क्याम्पसहरूको विस्तार र शैक्षिक गुणस्तर विकासका सम्बन्धमा ठोस कार्ययोजना बनाइनुपर्ने, आंगिक क्याम्पसमा आन्तरिक स्रोतको नाममा सञ्चालित सबै प्राइभेट कार्यक्रमलाई आंगिक कार्यक्रममा रूपान्तरित गरिनुपर्ने र नयाँ कार्यक्रम लागू गर्दा आंगिक क्याम्पसबाट सुरु गर्न भनिएको छ ।

चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान, कृषि तथा पशुविज्ञान, विज्ञान प्रविधि, खाद्य प्रविधिलगायतका प्राविधिक शिक्षा र व्यावसायिक कार्यक्रमहरू सातवटै प्रदेशमा आंगिक क्याम्पसमा विस्तार गर्न भनेको छ

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया