Edukhabar
सोमबार, ०७ असोज २०८१
विदेशमा शिक्षा

नेपाली विद्यार्थी पढ्नै जान्छन् त विदेश ?

बुधबार, १३ माघ २०७२

काठमाडौं - राजधानीको पुतलीसडक स्थित शंकरदेव क्याम्पसबाट पुरानो बसपार्कतिर जाँदै गरेका एक केटा र दुई केटी, विदेश जाने बारेमा गफिदैं अघि बढ्दै थिए ! कुरा सुन्दा लाग्थ्यो उनीहरु विद्यार्थी भिषामा विदेशीने उपायको खोजि गर्दै छन् ।

एडुखबर सम्बाददताले उनीहरुलाई पछ्यायो । उनीहरु केही बेर हिँडे पछि पुरानो बागबजारको अद्धैत मार्ग नजिक रहेको एक कन्सल्टेन्सीमा छिरे । सात तले भवनको छैटौ तलामा एउटा कन्सल्टेन्सी रहेछ ।

लस्करै सोफासेटमा बसेका उनीहरुमध्ये पहिलोले सोधे : सर ! विदेश जानको लागी के के गर्नुपर्छ ?

कन्सल्टेन्सी सञ्चालकले भने : विदेश जानलाई शैक्षिक योग्यता थाह हुनु पर्यो, कति पढ्नु भाछ ?

प्लस टु रनिङ । भनेको १२ पढ्दै ।

अनि ग्याप कति छ ?

ग्याप भनेको एसएलसी दिएको तीन चार बर्षपछि प्लस पढ्न शुरु गरेको मेरो यो साथि त एसएलसी कटाउनै दुई तीन बर्ष लगाएको 

कुन देश जान खोज्नु भाको त ?

युसए

अनि अंग्रेजी कस्तो छ ?

राम्रै छ ।

यो लम्बेतान प्रश्न भन्दा छोटो बाटो चाँडै विदेश जाने ब्यग्रताले होला छात्राले सोधिन् 'पैसा चाँही कति लाग्छ सर ? अनि काम गर्न पाहिन्छ होला नी ?'

यति वार्तालाप सुनेपछि नेपाली विद्यार्थी किन विदेश जान चाहन्छन् ? भन्ने प्रश्नको उत्तर बुझ्न गाह्रो हुँदैन ।

हामी प्रोसेसमा लाग्ने पैसा लिदैनौँ । तर अप्लाई गर्न, डकुमेण्ट कुरियर गर्न, अनि कलेजलाई इन्फर्म र इन्टरभ्यु सम्म गरेर त्यही ५० हजार रुपैंया जत्ति लाग्छ कन्सल्टेन्सी सञ्चालकले जवाफ दिए ।

अर्की विद्यार्थीले फेरी सोधिन् : अनि भिसा पक्का आउँछ त सर ?

युसए त भन्न सकिन्न ? आउन पनि सक्छ । नआउन पनि सक्छ ।

अनि भिसा आएन भने सर ? छात्रले सोधे ।

कन्सल्टेन्सीवालाले जवाफ फर्काए : आएन भने आएन । फेरी ‘ट्राई’ गर्ने ।

यति सुनेपछि उनीहरु तिनै जना ट्वाल्ल मात्र परेनन्, नाजवाफ भए !

कन्सल्टेन्सी सञ्चालकको यो भनाई भित्र विद्यार्थीलाई परामर्श भन्दा पनि रकम असुलिको गन्ध धेरै महशुस भयो ।

नेपाली विद्यार्थी विदेश जान किन यसरी मरिहत्तै गर्दै कन्सल्टेन्सी धाउँछन् ?

नाम नबताउने सर्तमा एक जना कन्सल्टेन्सी सञ्चालक भन्छन् अधिकाँश नेपाली विद्यार्थी पढ्न भन्दा पनि कमाउन विदेश जान चाहन्छन् । उनीहरु जति पनि खर्च गर्न तयार भएपछि हामीले पनि यसो कमाउनै पर्यो नी, उनी निर्धक्क भन्छन्, अनी यसो उसो गरेर डकुमेण्ट बनाईदिन्छौं ती विदेश जान्छन् हामी ब्यवसाय चलाउँछौं ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको पहिलो प्रश्न हुन्छ पढाई र काम संगसंगै गर्न पाईन्छ की पाईदैंन । पढाई सकेपछि देशमा काम गर्ने अवसर नपाएकाहरु पनि विद्यार्थी भिषामै विदेशीने भन्दै कन्सल्टेन्सी धाउने गर्छन् । 'नेपालमा बसेर के गर्ने ? काम अनुसारको दाम र स्तर हुदैन । त्यही कारण यहाँ एसएसलसी पढ्नेदेखि मास्टर्स पढेपछि पनि टार्गेट भनेकै विदेश हुन्छ ।’ उनले भने ।

कन्सल्टेन्सीहरुका अनुसार विदेश जाने अधिकांश विद्यार्थी प्लस टु पास गरेका भए पनि स्नातकोत्तर गरेकाहरुको संख्या पनि उल्लेख्य हुन्छ । 'पढ्ने भन्ने त बहाना मात्र हो, उता जाँदा हुने खर्चलाई लगानी ठानेर काम गर्छन् ती सञ्चालकले भने, 'पहिलो कुरा उनीहरु ‘सेक्योर’ हुन जान्छन् । ‘सेक्योर’ भनेको आफुलाई काम पनि पढाईपछि त हो ।'

शैक्षिक परामर्श संघ – ईक्यान अध्यक्ष राजेन्द्र बराल भने नेपाली विद्यार्थी पढ्नैका लागी भनेर मुलुक छाड्ने गरेको बताउँछन् । 'उता गएपछि काम गर्दै आफुलाई ‘सेटल’ गर्नु फरक कुरा हो' उनले भने, 'तर शुरुमा पढ्नकै लागि भनेर जाने गर्छन् ।'

ईक्यानका अनुसार बार्षिक करिब ३० हजार नेपाली विद्यार्थी विभिन्न देश जान्छन् । तीमध्ये भारतमा मात्रै तीन हजारको संख्यामा नेपाली विद्यार्थी जाने गरेका छन् ।

अमेरिका र अष्ट्रेलिया पहिलो गन्तव्य

बागबजारस्थित एक कन्सल्टेन्सिका प्रबन्ध निर्देशक सुदीप केसीका अनुसार धेरैजसो विद्यार्थीको पहिलो रोजाई सबैको सपनाको शहर अमेरिका नै हो ।

विश्वको राजनीतिक, आर्थिक र सामाजिक कुराको अध्ययन अनुसन्धान र गतिविधीको ‘हब’ नै अमेरिका मानिन्छ ।  त्यसैले पनि नेपाली विद्यार्थीको पहिलो रोजाईमा अमेरिका पर्ने गरेको हो ।

‘पढ्न सजिलो छ । अंग्रेजी राम्रोसंग जान्यो भने पनि झनै फाइदा । अनि अर्कोतिर कुनै पनि कुराको अनुभव र अनुभूतिका लागी पनि अमेरिका नै हो, उनले भने, काम गर्न जान्यो भने पैसा कमाउन पनि विद्यार्थी अमेरिका नै रोज्छ ।’

त्यसपछि अर्को गन्तव्यका रुपमा काम गर्न तथा पढ्न अष्ट्रेलिया सुरक्षित मानिन्छ ।  विदेशमै सेटल हुन चाहने अधिकाँश नेपाली विद्यार्थीको गन्तब्य हो अष्ट्रेलिया ।

यूरोप : पढ्न राम्रो भए पनि काम पाउन मुस्किल

पढ्नका लागी युरोप राम्रो मानिए पनि नेपाली विद्यार्थीका लागि यूरोप गतिलो गन्तब्य बन्न सकेको छैन । यसको मुख्य कारण काम गरेर दाम कमाउने सपना बोकेका नेपालीको सपना पुरा नहुनु नै हो  । युरोप पढ्न जाने विद्यार्थीलाई पछिल्ला बर्षहरुमा निकै समस्या हुने गरेको छ । शरणार्थी समस्याले गाँजेको युरोपलाई बाहिरी देशका नागरिकलाई पहिलो कुरा जानै समस्या र दोश्रोमा काम पाउन मुश्किल हुने गरेको कन्सल्टेन्सी सञ्चालकहरु बताउँछन् । 

पछिल्लो समय फ्रान्स लगायत विभिन्न देशमा भएको आतंककारी आक्रमणले पनि युरोप जाने जोखिम मोल्न डर मान्छन् नेपाली विद्यार्थी ।

भाषा पढ्दै पैसा कमाउन जापान

पछिल्लो समय जापान जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । जापानिज भाषा पढ्न भन्दै जापान पुगेपछि भाषा कक्षा र कलेज भन्दा बढी कमाई हुने बाटोमा  लाग्छन् । भाषा पढ्ने अनि काम पनि गर्ने । यी दुबैका लागी प्राय विद्यार्थी अरु उपाय नपाएपछि जापान पुग्ने गरेका छन् । जापनिज भाषा पढ्नेलाई सहज भिसा प्रकृया भएकाले कन्सल्टेन्सिहरु पनि नेपाली विद्यार्थीलाई त्यता आर्कषित गर्न सफल भएका छन् । 

तर ध्यान दिनु पर्ने तथ्य के हो भने, पढ्ने बहानाका कागजात बोकेर कमाउने उद्धेश्य सहित विदेशीने विद्यार्थीको संख्या बढे सँगै यस क्षेत्रका सरोकारवालाहरु थप गम्भिर हुनु आवश्यक छ । 

यसका लागि सबै भन्दा धेरै भूमिका विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने संस्थाको नै महत्वपूर्ण छ । उनीहरुको काममा शिक्षा मन्त्रालयको प्रभावकारी नियमन र अनुगमन सँगैँ हुनु जरुरी छ । विदेशिने विद्यार्थी र उनीहरुलाई परामर्श दिदैं आएका संस्थाहरुको नियमन पनि सँगै हुनु जरुरी छ । करिब ५ हजारको हाराहारीमा कन्सल्टेन्सी रहेको अनुमान छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा भेटिने १२ सय ३६ कन्सल्टेन्सीको तथ्याङ्क र  ७ सय कन्सल्टेन्सीले अनुमति लिएको र साढे ३ सय मात्रै सञ्चालनमा रहेको भन्ने इक्यानको दाविलाई विश्लेषण गर्दा अधिकाँश कन्सल्टेन्सीहरुले गर्ने काम कुनै संयन्त्रको नियमन भन्दा बाहिर छन् भन्ने तथ्य प्रमाणित गर्न कुनै कठिन हुँदैन ।  

प्रकाशित मिति २०७२ माघ १३ गते

प्रतिक्रिया