Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

जनवादी विद्यालयमा सरकारी पाठ्यक्रम

मंगलबार, १७ चैत्र २०७१

रुकुम १७ चैत / सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले स्थापना गरेको जनवादी विद्यालयमा गएको वर्षदेखि सरकारी पाठ्यक्रम पढाइ हुन थालेको छ । 

द्वन्द्वको समयमा माओवादीले आफ्ना नेता–कार्यकर्ता, जनसेना, मृतकका छोराछोरी, घाइते, अपाङ्ग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले जिल्लाका केही स्थानमा स्थापना गरेका जनवादी विद्यालयमा सरकारी पाठ्यक्रममा पढाइ भएपछि अरु पनि पढ्न थालेका छन् । 

सुरुमा आफ्ना बालबालिका मात्रका लागि स्थापना गरेपनि अहिले ती विद्यालयमा सर्वसाधारणका छोराछोरी पनि पढ्न थालेका छन् । पूर्वी रुकुमको मोरावाङको क्याङ्सिमा रहेको वासु स्मृति जनवादी विद्यालय तत्कालीन माओवादीले स्थापना गरेका विद्यालयमध्यमा अरुभन्दा व्यवस्थित मानिन्छ । 

सरकारी पाठ्यक्रमको साथै यस विद्यालयले तीनवटा सरकारी शिक्षक दरबन्दी पनि पाएको प्रधानाध्यापक बालकृष्ण शर्मा बताए । अहिले निम्न माध्यमिक तह सञ्चालन भइरहेको छ । सरकारी दरबन्दी पाउनुभन्दा पहिले उनीहरुका कार्यकर्ताले स्वयम्सेवकका रुपमा पढाउँदै आइरहेका थिए । 

एक वर्ष अगाडिसम्म यस विद्यालयमा लेनिन, कार्लमाक्र्स र माओको जीवनी, प्रचण्डपथ, जनयुद्ध, सैन्य शिक्षा आदि विषयमा पढाइ हुँदै आइरहेको थियो । अहिले भने पूर्णरुपमा सरकारी मापदण्ड र पाठ्यक्रमअनुसार पढाइ सञ्चालन हुँदै आएको छ । 

विद्यालयले सरकारी शिक्षक दरबन्दी, पाठ्यक्रम र पठनपाठन गरेपनि द्वन्द्वकालमा मारिएका माओवादी नेता तथा कार्यकर्ताका आफन्त अहिले पनि आवासीयरुपमा बसिरहेका छन् । उनीहरुलाई आवासको खर्च माओवादी पार्टीले व्यवस्थापन गर्ने गरेको थियो । अन्य विद्यालयको भन्दा जनवादी विद्यालयमा शैक्षिक वातावरण, पढाइको स्तर राम्रो भएकाले नजिकका विद्यालयका विद्यार्थी पनि यही विद्यालयमा आउने गरेका छन् । “आवासीयरुपमा बस्ने विद्यार्थीबाट खाना खर्चबापत न्यून रकम लिने गरेका छौँ, निजी विद्यालयको जस्तो चाँही होइन, प्रअ शर्माले भने, “चामल, दाल, साबुनजस्ता आधारभूत कुरा किन्नका लागि शुल्क लिने गरेका हौँ, व्यापार होइन ।” आवासीय विद्यार्थीबाट मासिक र एक हजार पाच रुपैया शुल्क लिने गरिएको छ । 

विद्यार्थीको शुल्कबाट आउने रकम शिक्षकको तलबमा पूर्ति गरिन्छ । हाल यस विद्यालयमा आवासीय र अन्य गरी २०० विद्यार्थी पठनपाठन गरिरहेका छन् । माओवादी सशस्त्र युद्धको चरम उत्कर्षको समयमा बालबालिकालाई जनवादी शिक्षा दिने भन्दै माओको सिद्धान्तका बारेमा पढाइ हुने र हतियारका बारेमा समेत जानकारी गराउने गरिएका विद्यालय पछिल्लो समयमा आएर आफ्ना पुराना योजनालाई थाती राखेर सरकारी शिक्षा प्रणालीमै आउन थालेका हुन् । 

आफूले तत्कालीन समयमा थालेको अभियान एक किसिमको आक्रोश भएको र राजनीतिक प्रशिक्षणका कारण ठीकै लागेपनि हाल आएर त्यो शिक्षालाई लागू गर्न निकै कठिन र त्यति व्यावहारिक नलागेको विद्यालय स्थापना गर्नमा ठूलो भूमिका खेलेका केही माओवादीका जिल्लास्तरका नेताको भनाइ रहेको छ । 

केही विद्यालयमा त सुरुमा माओको सिद्धान्तका बारेमा बहस हुने गर्दथ्यो भने बन्दुकका बारेमा पनि जानकारी गराइन्थ्यो । त्यसैगरी युद्धको समयमा दुश्मनबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा सिकाइने गरिन्थ्यो, तर हाल आएर ती सबै शिक्षा प्रणाली हटेका छन् । 

रुकुम जिल्लाको दुली गाविस–२ छहरा, दुली गाविसकै–९ हासु, दुली–४ खलटाकुरा र मोरावाङ गाविसको क्याङ्कसीमा गरी जिल्लामा चारवटा जनवादी विद्यालय स्थापना गरिएका थिए । पहिले जनवादी विद्यालयको नामले मात्रै चिनिने गरेका यी विद्यालयको पछिल्लो समयमा नाममा समेत परिवर्तन आएको छ । पहिले जनवादी विद्यालयका रुपमा चिनिँदै आएको रुकुम जिल्लाको विकट गाविस दुली– २ छहराको जनवादी विद्यालयलाई हाल आएर जनता प्रावि नामाकरण गरिएको छ । 

पहिले पार्टीले नै पु¥याउला जस्तो लागेको भएपनि हाल आएर स्थानीयवासीले विद्यालयको विकास र शिक्षाको गुणस्तर बढाउनका लागि पनि विभिन्न सामाजिक सङ्घसंस्था र जिल्ला शिक्षा कार्यालयसँग हारगुहार गर्नथालेका छन् । विद्यालयको विकास गर्नका लागि विभिन्न सङ्घसंस्थासँग माग गरेका छौँ, स्थानीय अर्जुन केसीले बताए । 

केसीले भनेझँै विसं २०५८ साल मङ्सिर महिनामा स्थापना गरेको विद्यालयमा पहिले स्याउलाले बारेको छाप्रोमा जेनतेन पढाइ हुने गरेको थियो तर हिजोआज टिनले छाएको ढुङ्गाको भवनमा पढाइ हुन थालेको छ । विद्यालयको भवनमा पनि भारी विकास भएको छ भने विद्यालयमा पठनपाठनका लागि जिल्ला शिक्षा कार्यालयले पनि ठूलै सहयोग गरेको छ । 

यसरी जनवादीको नाम मात्रैले शिक्षामा परिवर्तन नआउने भएका कारण आफूहरुले जिल्ला शिक्षासँग सरकारकै शिक्षा प्रणालीमै आउने र त्यसका लागि सहयोग गर्न अनुरोध गरेको स्थानीयवासीले बताएका छन् । उनीहरुले जिल्ला शिक्षा कार्यालयबाट शिक्षकको दरबन्दी माग गरेर दिने गरेका पनि छन् भने जिटिजेड, विश्व खाद्य कार्यक्रम र रेडक्रसको सहयोगमा पक्की भवन पनि बनाउन थालेका छन् । 

आफूले यी संस्थाको रु नौ लाख सहयोगमा जस्तापाताले छाएको सुविधायुक्त भवनको निर्माण गरेको छहराका समाजसेवी खिमबहादुर खत्रीले बताए । खत्रीले आफूहरु सरकारी शिक्षा प्रणालीमा आएपछि विद्यालयले मुहारै बदल्न सफल भएकोप्रति खुसी व्यक्त गरे । 

त्यसैगरी, विद्यालयले माओका सिद्धान्त र हतियारका बारेमा हुने गरेको पढाइ पनि हटाएका छन् । हाल प्रत्येक विद्यालयमा जिल्ला शिक्षा कार्यालयले एक एक वटा शिशु शिक्षा र दुई जना राहत दरबन्दी गरी जम्मा तीनजनाको दरबन्दी दिएको छ । यसरी रुकुमका जनवादी विद्यालय अन्ततः सरकारी शिक्षा प्रणालीमा आउन बाध्य भएका छन् । 

माओवादी आफ्ना योजना आफ्नै तरिकाले सञ्चालन गर्न व्यस्त मात्रै थिएन जनवादी अदालत, जनवादी अस्पताल, जनवादी खेतीदेखि लिएर शिक्षालाई पनि जनवादी बनाउने नाममा रुकुमका चार स्थानमा जनवादी विद्यालयको स्थापनासमेत गरेको थियो । जनताका छोराछोरीलाई जनवादको बारेमा जानकारी दिएर नेपाललाई नै जनवादी बनाउने र राजनीतिक आस्थाकाबारेमा जानकारी दिने प्रयासस्वरुप स्थापना गरिएका विद्यालयमा पटक–पटक सरकारी सेनाको हस्तक्षेप पनि हुने गर्दथ्यो । 

विद्यालय मात्र होइन माओवादीले स्थानीय सत्ता सञ्चालन गरेका बेला स्थापना गरेका जनवादी कम्युनलगायतका अन्य सबै संरचनासमेत निस्क्रिय भएका छन् । रासस  

तस्बिर: इन्टरनेट 

प्रतिक्रिया