Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नियमित विद्यालय जानेलाई मासिक २ सय !

बुधबार, १३ माघ २०७२

काठमाडौँ, १३ माघ । विद्यार्थी सङ्ख्या न्यून भएपछि म्याग्दीको एक विद्यालयले विद्यालयप्रति आकर्षित गर्न विद्यार्थीलाई छात्रवृत्तिसहित मासिक रुपमा नगद रु २०० प्रदान गर्न थालेको छ ।  सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटरको दूरीमा रहेको गलेश्वरमा अवस्थित जडभरत प्राविले नियमितरुपमा विद्यालयमा जाने विद्यार्थीलाई नगद रु २०० सहित अतिरिक्त सुविधाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या पनि बढ्न थालेको छ ।

बेलायतमा कार्यरत खिम शेरचनबाट सङ्कलन गरिएको रु २० लाख विद्यालयको मुद्धतिमा राखेपछि विद्यार्थीलाई आकर्षण गर्न सजिलो भएको र विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको विद्यालयका शिक्षक मनोज पौडेलले बताए ।  सुविधा स्थापना गरेपछि ५८ विद्यार्थी पुगेका छन् । नगदसहितको सुविधाका बारेमा जानकारी पाएपछि १० विद्यार्थी थप भएको विद्यालयले जनाएको छ ।

नियमित विद्यालयमा आउने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने छात्रवृत्तिबाहेक हाजिर हेरेर मासिक रु २०० उपलब्ध गराउने गरिएको छ । नयाँ शैक्षिक सत्रका लागि अहिलेदेखि विद्यालयले भर्नादर बढाउने गरी घरदैलो सहितको योजना बनाएको छ ।

रासस

प्रतिक्रिया