Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

पाठ्यपुस्तक सच्चाउन लिखितपत्र !

बुधबार, १३ माघ २०७२


काठमाडौँ, १३ माघ । गौतमबुद्धको जन्मस्थल नेपाल बाहिर रहेको भनी कतिपय पाठ्यसामग्रीमा देखिएका त्रुटि सच्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लिखित पत्र पठाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व महाशाखाले यही माघ ६ गते परराष्ट्र मन्त्रालयमार्फत जुन जुन देशको पाठ्यपुस्तकमा गौतमबुद्ध नेपाल बाहिर रहेको भनी उल्लेख छ सो सच्चाउन लिखितपत्रमा पठाएको हो ।

पत्रमा सिद्धार्थ गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र यसै तथ्यलाई स्वीकार गर्दै युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । 
तर विभिन्न अन्तर्राष्ट्रिय निकायमा नेपालको प्रतिनिधित्व गरी मित्रराष्ट्रका प्रतिनिधिसँग छलफलको क्रममा बुद्धको जन्मस्थल नेपाल बाहिर भएको भन्ने भ्रामक कुरा आउने गरेको उल्लेख छ ।

उक्त भ्रामक कुरा एवम् पाठ्यपुस्तकमा हुने गरेका त्रुटि सच्याउन नेपालसँग कूटनीनिक सम्बन्ध भएकामध्ये संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलङ्का, थाइल्यान्ड, भारत र नेदरल्यान्डमा भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्यविपरीत हुने गरी कुनै प्रकाशन÷प्रसारण नगर्न, अभिलेख नराख्न र गरिएको वा राखिएको भए सच्याउन पत्रमार्फत अनुरोध गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को हालैको निर्णयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशमा पत्र पठाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भगवान् गौतमबुद्ध नेपालमा जन्मिएको भन्ने तथ्य हुदाहुदैँ पनि मित्रराष्ट्रको पाठ्ययपुस्तकमा गलत तथ्य कायम रहेकाले सच्याउन सो पत्र पठाएको बताए ।

रासस

प्रतिक्रिया