Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

निरक्षरको सङ्ख्या चार हजार मात्रै !

मंगलबार, १२ माघ २०७२

काठमाडौं १२ माघ / पर्वत जिल्लामा निरक्षरको सङ्ख्या चार हजार मात्रै रहेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका गरी चार हजार १६४ जना मात्रै निरक्षर रहेको पाइएको छ । जिल्लाको कुल जनसङ्ख्या झन्डै डेढ लाख रहेकामा विद्यालय उमेरदेखि ६० वर्षभित्रको निरक्षर जनसङ्ख्या न्यून देखिएको हो ।

जसमध्ये कुश्मा नगरपालिकामा मात्रै एक हजार १३३ जना निरक्षर रहेका छन् । पर्वत जिल्लालाई नै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेका बेला निरक्षरलाई साक्षर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । पर्वतलाई चालु आवभित्रमै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो ।

अहिलेसम्म पर्वतका १३ वटा गाविस पूर्ण साक्षर घोषणा भएका छन् भने २७ वटा गाविस निःशुल्क तथा अनिवार्य शिक्षासहितको गाविस घोषणा भइसकेका छन् । जिल्लाका ४७ गाविस र एक नगरपालिकामध्ये बाँकी गाविसलाई पनि चालु आवमा पूर्ण साक्षरयुक्त बनाएर सिङ्गो जिल्लालाई नै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्लान नेपालको सहयोगमा पर्वतमा सञ्चालित वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उक्त जानकारी दिइएको हो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जिल्लाको शैक्षिक अवस्था र प्लान नेपालको सहयोगमा भएका कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । रासस

प्रतिक्रिया