Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कक्षा ३, विद्यार्थी दुई

मंगलबार, १२ माघ २०७२

काठमाडौं १२ माघ / बाग्लुङ् जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा मात्र दुई विद्यार्थी छन् । प्राथमिक तहमा ओरालो लागेको विद्यार्थी सङ्ख्या घटेर अहिले १८ मा सीमित छ । तीन वर्षअघि प्रावि तहमा १०५ विद्यार्थी थिए । कक्षा ३ मा आशिका आले र पुनम भण्डारीले पढ्छन् ।

कक्षा ३ मा मात्रै नभएर प्राविस्तरका अन्य कक्षामा पनि विद्यार्थीको खडेरी छ । कक्षा ५ मा चार, कक्षा २ मा चार, कक्षा १ मा चार र कक्षा ४ मा चार जना अध्ययनरत छन् । विद्यार्थी सङ्ख्या घट्दा गुणस्तर बढ्नुपर्नेमा त्यो झन निराशाजनक स्थितिमा छ । जीर्ण भवन, अव्यवस्थित कक्षाकोठा त्यसमाथि पुराना बेञ्चमा बसेर ससाना बालबालिका पढ्न बाध्य छन् ।

मावि, उच्च माविका लागि ठूलाठूला र सुविधा सम्पन्न भवन बने पनि प्रावि तह भने दशकौँ पुरानो भवनबाट चलेको छ । प्रावि तहमा अस्वभाविक हिसाबले विद्यार्थी घट्दा पनि विद्यार्थी टिकाउन कुनै ध्यान दिइएको छैन ।

विद्यालयका प्राचार्य गोविन्द भण्डारी बसाइसराइँ, सेवा क्षेत्रको सीमितता, गाउँघरमै विद्यालय खुल्नेक्रम बढ्नु, बच्चा जन्मने दरमा पनि कमी आएकाले गाउँका प्राविमा विद्यार्थी कम हुँदै गएको बताउँछन् ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले विद्यार्थी कम हुँदा पढाइको गुणस्तर झन बढ्नुपर्नेमा त्यसो नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । 'पढाइको गुणस्तर र सिकाइ उपलब्धि बढाउनमा मुख्य भूमिका शिक्षककै हुन्छ,' जिशिअ तिवारीले भने । उनले न्यूनतम विद्यार्थी सङ्ख्या पनि पुर्‍याउन नसक्ने विद्यालय एकीकरणमा जाने बताए ।

सुदृढ व्यवस्थापन, स्तरीय सिकाइ र पढाइ मैत्री वातावरण दिनसके सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सकिने उनको भनाइ छ ।

विद्यार्थी नै टिकाउन नसक्दा हालसम्म जिल्लाका नौ वटा प्रावि बन्द भइसकेका छन् । विद्यार्थी कम भएपछि थप प्रावि पनि एकीकरणको प्रक्रियामा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया