Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकको तथ्यांक राख्दै भारत

मंगलबार, १२ माघ २०७२

काठमाडौं १२ माघ / संस्कृत शिक्षा एवं शिक्षण कार्यलाई बढावा दिन भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले संस्कृत पठन पाठनमा लागेका शिक्षकको ‘डाटा बैंक’ तयार गर्ने प्रस्ताव गरेको छ ।
 
उसले विश्वविद्यालय एवं शिक्षण संस्थालाई संस्कृतसँग जोडिएका व्यक्तिका बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
आयोगका अध्यक्ष वेद प्रकाशले यस सम्बन्धमा देशभर रहेका १ सय २६ विश्वविद्यालय एवं संस्थानलाई यस्तो पत्र लेखेर जानकारी गराएका छन् ।
 
युजिसीले भारतभर संस्कृतको पठनपाठनलाई उन्नत र स्तरीय बनाउन विस्तृत योजना ल्याउन लागेको उनले जानकारी दिएका छन् ।
 
संस्कृतलाई आधुनिकीकरण गरी यसलाई बढावा दिन भारत सरकारले काम गरिरहेको छ । यसै कार्यलाई अगाडि बढाउन आयोगले संस्कृत विषयको अध्ययन अध्यापनमा संलग्न शिक्षकहरूको तथ्यांक संकलन गर्न विश्वविद्यालयहरूसँग समन्यव गरिरहेको छ ।
 
पत्रमा उल्लेख गरिएको छ, ‘म यो चिठीका माध्यमद्वारा देशभर रहेका शिक्षण संस्थामा रहेका संस्कृतका अध्यापकको बारेमा जानकारी दिन आग्रह गर्दछु ।
 
उनीहरू सबैलाई संस्कृतको विकासमा समावेश गर्न सकियोस् ।’ यसका लागि भारत सरकारले भारतवाणी वेबसाइट सञ्चालनमा ल्याएको पनि जानकारी दिएका छन् ।
 
कर्णाटक राज्यको मैसुरस्थित सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन ल्याङवेज (सिआइआइएल) लाई पनि यसमा संलग्न गराइएको छ ।
 
अनुदान आयोगका अध्यक्षले संस्कृत अध्यापन हुने विश्वविद्यालयका कुलपति एवं निर्देशकलाई लेखिएका पत्रमा आफ्ना विश्वविद्यालयका निर्देशिका, पाठ्यसामग्री, साहित्य, शोध सामग्रीलाई भारतवाणीमा अपलोड गर्न आग्रह गरेका छन् ।
 
सिआइआइएलले देशभर बोलिने सबै भाषाका जानकारी पनि संस्कृतमा गर्न अनुरोध गरिएको छ । लिखित, श्रव्य, श्रव्यदृश्य, तस्बिर जे—जस्ता माध्यममा उपलब्ध हुन्छन्, ती सबैलाई समेट्नुपर्ने बताइएको छ ।
 
भारतको वर्तमान सरकारले संस्कृत, योग, आयुर्वेद, युनानी जस्ता विषयलाई उच्च प्राथमिकतामा राखेको छ । गत वर्षमात्रै भारतमा यस्ता आयुर्वेद, योग, युनानी, सिद्ध, होमियोप्याथी चिकित्सालाई बढावा दिन आयुष मन्त्रालय गठन गरेको छ ।
 
योगलाई संयुक्त राष्ट्रसंघबाट मान्यता दिलाउन सफल भएपछि योग र संस्कृतको अध्यापनमा जोड दिने भएको छ ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया