Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

केसीले चिकित्सा आयोगको नेतृत्व लिन मानेनन् : शिक्षा मन्त्री

सोमबार, ११ माघ २०७२

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. गोबिन्द केसीले उठाउदै आएको माग पुरा गर्न सरकार लागि परेको बताएका छन् । यस अनुसार माथेमा आयोगको मर्म अनुसार चिकित्सा आयोग गठन भइसकेको उनले बताए । केसीले उठाउँदै आएको मागको बिषयमा प्रधानमन्त्रीसंग समेत बसेर छलफल भएको राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

‘केसी र प्रधानमन्त्री बीचको भेटघाट समेत मैले मिलाएको थिएँ’ पोखरेलले भने,‘भेटमा प्रधानमन्त्रीज्यूले चिकित्सा आयोगको नेतृत्व डा.केसीलाई लिन आग्रह गर्नु भएको थियो । तर, उहाँले मान्नु भएन । आयोग उहाँकै सहमतीमा बनेको हो ।’

सरकारसंग पटक–पटक भएको सहमती पुरा नभएको भन्दै डा. केसी सोमबार देखि अनसन बस्ने घोषणा गरेका छन् । मन्त्री पोखरेलले अनसन नबसिदिन आग्रह समेत गरे । ‘अनसन बस्न नपर्ने गरी काम अघि बढिसकेको छ । उहाँको माग पुरा गराउन सरकार सकारात्मक ढंगले अघि बढिरहेको छ’ उनले भने,‘अनसन बस्ने वा नबस्ने उहाँको अधिकार हो । तर, मेरो आग्रह छ अनसन नबसिदिनुस् । तपाइसंग गरेको सहमती कार्यान्वयनको चरणमा छ ।’

डा. केसीले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्बन्धन चोर बाटोबाट दिन लागेको भन्दै बिरोध गर्दै आएका छन् । मन्त्री पोखरेलले प्रष्तिठानको विद्येयक संसदमा बिचाराधिन रहेकोले आफूले यस बारेमा प्रतिक्रिया नदिने बताए । उनले प्रतिष्ठानको बारेमा खुलेर बोल्न नचाहेपनि नेताको नाममा खुलेको शैक्षिक संस्थाको नियमनको आवश्यकता रहेको बताए । ‘पूर्वाग्रह, आरोप र प्रत्यारोपबाट अलि माथि उठेर बिगतको सहमती, यस्ता संस्थामा सांसदको संलग्नता लगायतको बारेमा स्पष्ट हुनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति २०७२ माघ ११ गते

प्रतिक्रिया