Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

ढुंगामुढासहित विद्यालयमा तालाबन्दी गर्ने अभिभावक कस्ता ?

सोमबार, ११ माघ २०७२

काठमाडौँ, ११ माघ । शुक्रबारदेखि अनिश्चितकालीनरुपमा विद्यालयमा तालाबन्दी गरेका बैतडीको दुर्गा उच्च माविका अभिभावक थप आन्दोलित भएका छन् ।  गएको जेठ २१ गते विधिपूर्वक निर्वाचन भई घोषणाको समयमा विवाद भई अन्योलमा परेको श्री दुर्गा उमाविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने मागसहित रुद्रेश्वर र कोटपेटराका अविभावकहरु आइतबार सदरमुकाम पुगेका छन् । 

मतगणनापछि भएको ढुङ्गामुढाले घोषणा हुन नपाएको विद्यालय व्यवस्थापन समितिको विवाद अझैसम्म पनि सुल्झिन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको प्रत्यासीमा रहेका भरत घरेडी, दुर्गादत्त भट्ट, गोकर्ण पन्त र वीरेन्द्रबहादुर बोहरामध्ये सबैभन्दा बढी बोहरालाई १६८ मत प्राप्त भएको थियो । 

निर्वाचनमा भरत घरेडीले ११, दुर्गादत्त भट्टले ५५, गोकर्ण पन्तले १६४ मत पाएका थिए जसमध्ये ३७ मत बदर भएको स्थानीयवासी अभिभावक नैनसिंह बोहराले बताए ।  अध्यक्षका प्रत्यासी गोकर्ण पन्तले बोर्डिङबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लड्न छोरालाई दुर्गा उमाविमा भर्ना गरेको र विवादसमेत पन्तले नै गरेको स्थानीयवासीले आरोप लगाएका छन् । 

त्यसपछि घोषणा हुने क्रममा एक्कासि विपक्षीबाट ढुङ्गामुढा प्रहार भएपछि विवादमा मुछिएको समितिका कारण विद्यार्थीको पढाइ प्रभावित बन्दै आएको छ ।  एसएलसीको तयारीमा रहेका विद्यार्थीले पटकपटकको तालाबन्दीका कारण आफ्नो भविष्यमाथि खेलबाड भएको बताउँदै आएका छन् । 

ठूलो सङ्ख्यामा जिल्ला प्रशासन पुगेका स्थानीय अभिभावकले प्रक्रियाअनुसार निर्वाचन भएको समितिले पूर्णता पाउनुपर्ने माग गरेका छन् । जवाफमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड नगरी अहिले ताला खोल्न सुझाव दिँदै र लगत्तै जिल्ला शिक्षा समितिको बैठक बसाली समस्याको सामाधान खोज्ने बताए  ।  

विद्यालयमा ताला नखोली पढाइ प्रभावित बन्दै गएपछि विद्यार्थीले ताला तोड्ने चेतावनी दिएका छन् । 

रासस 

 

प्रतिक्रिया