Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सिकाइ सामग्रीबाट विद्यार्थीलाई राहत !

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ९ माघ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रमा रहेका भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीलाई ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ र ‘एक्सनएड’ नेपालको सहकार्यमा स्टेसनरी, सिकाइ सामग्री, स्कुल ब्याग, स्वीटर र स्कुल पोसाक वितरण गर्दैआएको छ । 

मेलम्ची नगरपालिका–१ को जागेश्वरी निम्न माध्यमिक विद्यालय इचोकको महेन्द्र उच्च माध्यमिक विद्यालय, महांकालको भञ्ज्याङ र पद्मेश्वरी प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो । 

महेन्द्र उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५ कक्षाकी छात्रा रसिला पराजुलीले आफूहरुलाई विभिन्न सङ्घ संस्थाको सहयोगले भूकम्पपश्चात पनि निरन्तर अध्ययन गर्न सहज भएको बताइन् । उनले संस्थाले दिएको झोला, पोसाक, र सिकाइ सामग्रीले अध्ययन गर्न थप हौसला मिलेको भन्दै खुसी व्यक्त गरिन् । 

‘गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकार, सुरक्षित शिक्षण संस्था हामी सबैको अधिकार’ मुख्यनाराका साथ संस्थाले हेलम्बु, किउल, इचोक, महाङकाल र मेलम्ची नगरपालिकाको– १ र २ वडा अन्तर्गतका १० वटा स्कुलमा प्रारम्भिक बाल विकास केन्द्र तथा अस्थाई सिकाइ केन्द्र निर्माण गरेको छ । 

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एक्सनएड नेपालले थप तालामाराङको कोलेचौर प्राथमिक विद्यालय, इचोकको महाङकालेश्वरी निम्न माध्यमिक विद्यालय, किउलको चित्रे र सेतीदेवी प्राथमिक विद्यालय, हेलम्बुको सर्कथली र देउराली प्राथमिक विद्यालयका गरी ४९४ छात्रासहित ९१० विद्यार्थीलाई उक्त सामग्री वितरण गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका परियोजना संयोजक कुमार थापाले बताए । 

विद्यार्थीलाई सामग्री वितरणका लागि ‘रिच आउट टु एसिया’ संस्थाले समेत सहयोग गर्दैआएको थापाले बताए ।  पछिल्लो समय सामुदायिक आत्मनिर्भरता केन्द्र, एक्सन एडलगायतका विभिन्न संस्थाको साझेदारीमा जिल्लाका विभिन्न क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण, प्रारम्भिक बाल विकास केन्द्र, अस्थाई सिकाइ केन्द्र निर्माण जस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

रासस 

 

प्रतिक्रिया