Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

‘ठूला’ पार्टिका महामन्त्रीकै क्षेत्रमा छैनन् ‘विद्यालय’

शुक्रबार, ०८ माघ २०७२

- एकराज गिरी /  झापाको घेरावारी र पाठामारी गाउँ विकास समिति तिनै गाविस हुन्, जुन संसदमा सब भन्दा ठूलो दल नेपाली काँग्रेस र चौथो दल राप्रपा नेपालका महामन्त्रीको क्षेत्र भित्र पर्छन् । झापा क्षेत्र नम्वर ३ मा पर्ने यी गाविस नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र भित्र पर्छन् । उपप्रधान तथा गृहमन्त्रीको जिम्वेवारी समेत सम्हालेका सिटौला दोस्रो संविधान सभाको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भए । उपप्रधान मन्त्री सहित वर्तमान सत्तामा रहेको दल राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन पनि सिटौलासँग यही निर्वाचन क्षेत्रमा चुनाव लडे ।

प्रमुख प्रतिपक्षि दल काँग्रेस र सत्ता गठबन्धनको मुख्य दल राप्रपा नेपालका केन्द्रिय नेताकै क्षेत्रमा एउटा पनि माध्यामिक विद्यालय नहुनुले राज्य सञ्चालकहरु सामाजिक विकास र उन्नतीमा कत्तिको गम्भिर छन् भन्ने बुझ्न काफि छ । भारतसँग सीमाना जोडिएको घेरावारी र पाठामारीमा अहिलेसम्म पनि माध्यमिक विद्यालय (मावि) यहाँका धेरै बालवालिका निम्न माध्यमिक तहसम्मको अध्ययन पुरा गरिसकेपछि पढाइ छाड्न बाध्य छन् ।

आदिवासी जनजाति समुदायको वाहुल्यता रहेका यी गाविसका बालबालिका माध्यमिक विद्यालय पढ्न पर्यो भने छिमेकी गाविसमा रहेका विद्यालयमा जानुपर्ने बाध्यतामा छन् । टाढा जानु पर्ने भएकाले अधिकाँश विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् । हुने खानेका  छोराछोरी भने नजिकै खुलेका निजी विद्यालय अनि केही भारतमा रहेका विद्यालयमा अध्ययन गर्छन्, टाढा पठाउन नसक्नेका बालबालिकाको विकल्प चाँही पढाई छोड्नुमै पुगेर सकिन्छ ।  विकासका दृष्टिकोणले समेत पछि परेका यी गाविसका बालबालिका आफ्नै ठाउँमा मावि र उच्च मावि नहुँदा अध्ययनका लागि साइकलमा एक घण्टासम्मको बाटो धाएर छिमेकी गाविसमा रहेका विद्यालयमा जाने गरेको बताउँछन्– घेरावारी निवासी लक्ष्मीनारायण यादव ।

पथरीया स्रोत केन्द्र अन्तर्गत पर्ने घेरावारीमा एउटा मात्र निम्न माध्यमिक विद्यालय र चारवटा प्राथमिक विद्यालय छन् । घेरावारीको पथरीयामा वुद्ध निमावि रहेको छ भने बाँकी चारवटा लक्ष्मी, शहीद गंगालाल, नवदुर्गा र वसन्त प्रावि छन् ।

त्यस्तै पृथ्वीनगर स्रोत केन्द्र अन्तर्गत पर्ने पाठामारीमा पनि एउटा निमावि र चारवटा प्रावि छन् । जानकी निमावि हो भने पशुपति, श्री वुद्ध र देवी प्राथमिक विद्यालय हुन् । यिनै विद्यालयमा अध्ययनरत केही बालबालिका निम्न माध्यमिक तहको अध्ययन पुरा गरेपछि विद्यालय छाड्छन् त केहीले एक घण्टासम्म साइकलमा धाएर पढ्न जान बाध्य छन् । यहाँका विद्यार्थी राजगढ तथा बगानमा रहेको माध्यमिक विद्यालयमा जाने स्थानीय माधव खनालले बताए  ।

जिल्ला शिक्षा कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष २०७२÷०७३ मा घेरावारीमा रहेका वुद्ध निमाविमा १ सय ६८, लक्ष्मी प्राविमा १ सय १०, शहीद गंगालालमा १ सय ३९ , नवदुर्गामा ६५ र वसन्त प्राविमा १ सय २९ जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै पाठामारीमा रहेका पशुपति प्राविमा १ सय ३६, श्रीप्राविमा १ सय २९, वुद्ध प्राविमा १ सय ८, देवी प्राविमा ३५ र जानकी निमाविमा २ सय ७ जना विद्यार्थी अध्ययनरत रहेको उपसचिव उद्धव विष्टले जानकारी दिए ।

प्रकाशित मिति २०७२ माघ ८ गते

प्रतिक्रिया