Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

गणितको प्रतिस्पर्धामा दश विद्यार्थी छनोट

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ८ माघ । म्याथम्याटिक्स ओलम्पियाड अफ नेपाल (मुन) ले गणित विधामा इलामका १० जना उत्कृष्ट विद्यार्थीलाई छनोट गरेको छ ।  सदरमुकामको आदर्श उच्चमाविमा सम्पन्न प्रतियोगिताबाट हेरिटेज नेसनल एकेडेमीका देवेन्द्र ढकाल प्रथम, बिबी मेमोरियल सेकेन्डरी स्कूल साँखेजुङका सुदीपभाइ सुवेदी द्वितीय तथा सोही विद्यालयका प्रवीण बस्नेत तृतीय भए । 

त्यस्तै, ग्रिनभ्याली एकेडेमीका पवन चापागाईं चौथो, सनराइज इङ्लिस स्कूल फिक्कलका शौरभ गुरुङ पाँचौँ र हेरिटेज नेसनल एकेडेमीका सुजन प्रधान छैटौँ भएका छन् ।  उनीहरू राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । राष्ट्रियस्तरको प्रतियोगिताबाट पनि उत्कृष्ट छ विद्यार्थी छनोट हुनेछन् । ती विद्यार्थीले सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय म्याथम्याटिक्स ओलम्पियाड अवार्डमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । 

सन् १९५९ मा रोमानियाबाट सुरु भएको म्याथम्याटिक्स ओलम्पियाड अवार्डमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । अन्तर्राष्ट्रिय ओलम्पियाडको प्रतिस्पर्धी खोज्नका लागि जिल्लामा प्रतिस्पर्धा गराइएको आयोजक म्याथम्याटिक्स ओलम्पियाड अवार्ड अफ नेपालका महासचिव दीपक बाँस्तोलाले जानकारी दिए ।

नेपालका २९ जिल्लामा प्रतिस्पर्धा सम्पन्न भइसकेको बताइएको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३८ विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ४२५ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । 

रासस 

 

प्रतिक्रिया