Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

हिउँसँग सङ्घर्ष गरेर पढ्दै विद्यार्थी

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ७ माघ । गोरखाको लाप्राकस्थित मणिकामदेवी माध्यामिक विद्यालयका विद्यार्थी हिउँसँग पौँठेजोरी खेल्दै विद्यालय आवतजावत गर्छन् । भूकम्पपछि विस्थापित भई गुप्सीपाखाको अस्थायी टहरोमा बस्दै आएका उनीहरु टहरोमा सञ्चालित विद्यालयको कक्षा कोठामा काँप्दै पढिरहेका छन् ।  गत पुस २५ गते परेको बाक्लो हिमपात पग्लेर नसकिँदै मङ्गलबार राति फेरि हिउँ थपिएको छ । 

हिउँसँग सङ्घर्ष गर्दै विद्यार्थीले दोस्रो त्रैमासिक परीक्षा दिए । हिमपात र चिसो स्याँठका बाबजुद पनि विद्यार्थी पठनपाठनमा सक्रिय रहेको शिक्षक धनबहादुर गुरुङले बताए ।  विद्यालयमा दुई सय विद्यार्थी पढ्छन् ।  विद्यार्थीलाई रुघाखोकी, निमोनियाजस्ता रोगले सताएको छ । त्यतिमात्र होइन, विद्यार्थीलाई कापी, कलम र कतिपय किताब पनि नहुँदा समस्या थपिएको शिक्षक गुरुङले बताए । 

पाँचसय भन्दा धेरै विद्यार्थी रहेको बारपाकको हिमालय उच्च माध्यामिक विद्यालयका विद्यार्थी पनि चिसोमा कठ्याङ्ग्रिदै पठनपाठनमा जुटेका छन् ।  एनआरएनले रु १८ लाखको लगानीमा निर्माण गरिदिएको पाँचवटा टहरोभित्र विद्यार्थी पढ्दै आएको प्राचार्य विष्णुप्रसाद शाहले बताए । 

चिसोबाट बच्न विद्यार्थीले बख्खु र पछ्यौरा ओढेका छन् । हात कठ्याङ्ग्रिएर लेख्न नसकिने विद्यार्थीको गुनासो छ । घाम लागेको दिन चौरमा कक्षा सञ्चालन गरिन्छ । असिनापानी, हावाहुरी र हिमपातले गर्दा पठनपाठनमा समस्या ल्याएको अभिभावक तेजबहादुर घले बताउँछन् । 

हिउँदको याममा पाँच फिटसम्म हिउँ जम्ने हुँदा बर्सेनि सिर्दिवास स्रोत केन्द्रअन्तर्गतका २२ विद्यालय बन्द गरिन्छ । यसवर्ष पनि ती विद्यालय बन्द गरिसकिएको छ । माघको अन्तिम सातादेखि मात्रै विद्यालय खुल्ने जिल्ला शिक्षा अधिकारी हरि अर्यालले बताए । 

सिर्दिवास स्रोत केन्द्रअन्तर्गतका २२ विद्यालय त्रिपाल र पालभित्र छन् । ढुवानी समस्याले गर्दा जस्तापाताले टहरो छाउन नसकिएको जिल्ला शिक्षा अधिकारी अर्यालले बताउनुभयो । ती विद्यालयका लागि जस्तापाताको जोहो गरिसकिएको बताउँदै अर्यालले गैरसरकारी संस्थाले हेलिकप्टरमार्फत ढुवानी गरेर जस्तापाता पु¥याइदिने वचन दिएको बताए । 

गत वैशाखमा गएको भूकम्पले जिल्लाको ४९६ वटा विद्यालयका भवनमा पूर्णरुपमा क्षति पु¥याएको थियो । विद्यालय भवन भत्केको र टहरो पनि बनाउन नसकेपछि ३८ वटा विद्यालयलाई छिमेकी विद्यालयमा व्यवस्थापन गरिएको छ । 

अहिलेसम्म २७ वटा गैरसरकारी संस्थाले २२६ वटा कक्षाकोठा बनाउने प्रतिबद्धता जनाएका छन् ।  जाइका नामक संस्थाले १९ वटा विद्यालय भवनको ३८ कोठा मर्मत र ३० वटा विद्यालय निर्माण गरिदिने प्रतिवद्धता जनाएको जिशिअ अर्यालले जानकारी दिए । 

विभिन्न १२ वटा संस्थाले शिक्षा विभागसँग सम्झौता गरी गोरखामा २३७ वटा कक्षाकोठा निर्माण गरिदिने सम्झौता गरिसकेका छन् ।  ती भवन तथा कोठा भूकम्प प्रतिरोधी र सरकारी मापदण्डअनुसारको निर्माण हुनेछन् । आगामी पाँच वर्षभित्र सबै विद्यालय पुनःनिर्माण गरिसक्ने गरी काम सुरु भएको जिशिअ अर्यालले बताए ।

रासस 

 

प्रतिक्रिया