Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

आंशिक शिक्षकहरु धर्नामा

बुधबार, ०६ माघ २०७२

बाग्लुङ् - दुई सूत्रीय माग राखेर आन्दोलनमा उत्रिएका उपत्यका बाहिरका धवलागिरी बहुमुखि क्याम्पस बाग्लुङ् सहित सात क्याम्पसका आंशिक शिक्षकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबारदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । उनीहरुले पठन पाठनलाई बाधा नपुग्ने गरी समय निर्धारण गरेर दुई घन्टे धर्ना सुरु गरेको जनाएका छन् ।

उनीहरु विषयगत पाठ्यभार, वरिष्ठता र क्षमताका आधारमा करारमा नियुक्ति गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

‘धर्ना सोमबार र मंगलबार सम्बन्धित सबै क्याम्पसमा चलिरहेको छ’ संर्घष समितिका संयोजक शिवशरण ज्ञवालीले भने,‘बन्द हड्ताल जस्तो अप्रिय निर्णय बिना हाम्रा माग विश्वविद्यालयले सुन्छ भन्नेमा विश्वस्त छौं ।’
धवलागिरी सहित गोरखा, बुटबल, भैरहवा, पाल्पा, दाङ, सुर्खेत क्यापसमा धर्ना कार्यक्रम भएको जानकारी दिए । धवलागिरी बहुमुखी क्याम्पस आंशिक प्राध्यापक संघका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसमा नयाँ नयाँ कार्यक्रमहरु चलाए पनि शिक्षक भने नथप्दा एकातिर आंशिक शिक्षकहरु पेशागत रुपमा असुरक्षित छन् भने अर्कोतिर क्याम्पसको शैक्षिक गुणस्तर समेत नराम्ररी प्रभावित भएको छ ।

‘पुराना दरबन्दी रिक्त हुँदै जाने तर नयाँ दरबन्दीमा अस्थायी विज्ञापन गर्न नदिदा क्याम्पसको शैक्षिक गुणस्तर समेत चौपट भएको छ’ पौडेलले भने ‘क्याम्पसका रिक्त दरबन्दीमा विश्वविद्यालयले तत्काल करार नियुक्तिका लागि विज्ञापन गर्न दिनुपर्छ ।’

विश्वविद्यालयले २०६७ सालदेखि त्रिविले शिक्षक नियुक्तिका लागि प्रतियोगितात्मक परीक्षा संचालन गर्न सकेको छैन । २०७१ कार्तिक ५ गते त्रिविले आफ्ना एघार क्याम्पसमा अस्थायी विज्ञापनका लागि केही दरबन्दी उपलब्ध गराए पनि ‘राजनीतिक दाउपेच’ का कारण तत्काल स्थगित गरिएको थियो ।

प्रकाशित मिति २०७२ माघ ६ गते  

प्रतिक्रिया