Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
विचार / विमर्श

पढ्ने काम शिक्षकको, सिक्ने विद्यार्थीको

बुधबार, ०६ माघ २०७२

- मदन राई / शिक्षकको काम के हो ? झट्ट प्रश्न सुन्दा सामान्य लाग्न सक्छ ।

उत्तर सजिलो छ – शिक्षकको काम विद्यार्थीलाई सिकाउने !

तर, हामी कहाँ शिक्षकले नसिकाएरै समस्या भएको छ । जसको जे काम हो त्यो नै नगरेपछि समस्या हुने त भै हाल्यो । शिक्षकको काम सिकाउने हो, तर ऊ सिकाउन अल्छि गर्छ, शिक्षकले नसिकाएको देख्दा कृषि वैज्ञानिक मदन राईलाई पटक्कै चित्त बुझेको छैन ।

‘सबभन्दा ठूलो कुरा साना नानीहरुलाई पढाउने होइन सिकाउने, गराउने र गर्न लगाउने हो, तर हाम्रा शिक्षक र अभिभावक खाली पढाउनमा मात्रै ध्यान दिन्छन्, सिकाउन खाज्दैनन्’  राई भन्छन्, ‘यहाँ हामीलाई पढाइयो । त्यो पनि किताबका पाठ । किताबका पाठ शिक्षकले पढ्ने हो । विद्यार्थीले होइन । विद्यार्थीले त त्यो पाठले भने अनुसारको गर्ने हो र त्यसैबाट सिक्ने हो । तर, हामी कहाँ पढाइन्छ मात्रै त्यो पनि घोकाएर, सिकाएर र गराएर हैन । यसैले शिक्षाका सारा कुरा विगारेको छ ।’

राजधानीका तारे होटल र रिर्सोटमा शिक्षाका बहस चलाएर केही नहुने निष्कर्षमा पुगेका राई विद्यालयहरुमा भइरहेको पढाईको ढंग नपर्गेली शिक्षाको सुधार नहुने टुङ्गोमा पुगेको धेरै भयो । विद्यालयहरुमा जारी अध्ययन अध्यापन कस्तो किसिमको छ ? कसरी पढाइन्छ त्यसको अध्ययन नगरी पढाउँदा लगानी खेर गएको उनको निष्कर्ष छ ।

शिक्षा नीतिका बारेमा हालै राजधानीमा भएको एक कार्यक्रममा बोल्दै राईले पढाई नसक्दै खाडी हानिनुपर्ने बाध्यतामा विद्यार्थीलाई पुर्याउन हाम्रा शिक्षाका नीति निर्माताहरु दोषि रहेको आरोप पनि लगाए । ‘हाम्रो शिक्षा के हो ? पढेको बाल बच्चाले किन राम्रोसंग जीवन जिउन सकेको छैन ? पढाई नसक्दै खाडी जानुपर्ने अवस्था किन आयो ?’

उनको सटिक उत्तर छ – ‘हाम्रा विद्यार्थीलाई शिक्षित होइन योग्य बनाउने वित्तिकै शिक्षामा सुधार हुन्छ’ उनी भन्छन्, पढेर सकेका विद्यार्थीले पाएको प्रमाणपत्र बाकसमा थन्काउने की उसको हात पाखुरामा सीप भर्ने ? यत्ति सोच्ने वित्तिकै धेरै कुरा सुधार हुन्छ ।’

कृषि पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा अनुभवी र विज्ञता प्राप्त गरेका जनशक्ति उत्पादन त भए तर ती व्यक्तिहरु काठमाडौमै सिमित भए, उनीहरु सबैका सुझाव र उपाय संकलन गर्दै साझा छलफल गरेर काम गर्ने अभियान शुरु गर्ने हो भने, सुधार र विकास हाम्रा अघिल्तिर हाजिर हुने उनको विश्वास छ ।

शिक्षालाई राजनीतिले सिध्यायो !

‘हामी कुरा गरेर थाक्दैनौ तर काम पटक्कै गर्दैनौं, एक दिनमा सबैका लागि छुट्याएको समय २४ घण्टा नै हो । त्यो २४ घण्टामा एक्लैले गरेर केही हुँदैन । हामी सबैले गर्नुपर्छ । सबैले एक एक घण्टा मात्र शिक्षा सुधार र विकासका लागि फरक फरक काम गरौँ ।

कुरा होइन काम गरेपछि धेरै गर्न सकिन्छ । धेरै गर्छौ, उनी भन्छन्, ‘हाम्रो पाठ्यक्रम पुरानो छ की नयाँ छ की काम लाग्दो छ की नलाग्दो छ की यस बारेमा शिक्षाविद्ले भन्लान् तर मेरो विचारमा शिक्षाको सुधार गर्न पहिलो पाईला राजनीतिक प्रतिवद्धताबाट शुरु गर्नु पर्छ ।’

शिक्षामा भएको राजनीतिक भागबण्डा र मनोमानी अस्वीकार गर्दै यसका विरुद्ध सबैले आवाज उठाउन उनको आग्रह छ । ‘शिक्षामा रहेको नेतृत्व खासगरी राजनीतिक दलका शिक्षा हेर्ने ब्यक्ति, सरकारका शिक्षा सम्बन्धि उच्च निकाय, विद्यालयमा रहेका शिक्षक र विद्यार्थी अनि शिक्षामा कृयाशिल संघ संस्थाहरु सबैले पार्टी संगठनका लागी नभई नेपालीका लागी काम गरौँ । यति भएपछि सकिन्छ ।’ शिक्षामा ब्याप्त राजनीतिक प्रभाव प्रति उनको कटाक्ष छ ।

सुधार आफैंबाट

नेपालको शिक्षाका बारेमा बोल्न दिने हो भने, के सरकारी के गैह्र सरकारी सबै क्षेत्रका व्यक्तिले भन्ने एउटै वाक्य हो, हाम्रो शिक्षा समय सापेक्ष भएन, काम नलाग्ने भयो ! नीति नीयम बनाउने र सुधार गर्ने निकायमा बसेका ब्यक्तिहरुबाटै यस्तो सुन्दा सुन्दा वाक्क भएकाहरुले एक पटक राईलाई भेटे भने गुह्य सूत्र फेला पार्नेछन् – सुधार आफैंबाट गर्ने हो ।

२००६ सालमा खोटाङ रतान्छेमा जन्मिएका राई एसएलसीमा दोश्रो श्रेणी हुन् । गर्ने मान्छेलाई अँकले केही असर गर्दो रहेनछ भन्ने उदाहरण पनि हुन सक्छन् उनी । काठमाडौंको त्रिचन्द्र कलेजबाट आईएस्सी सकेर कृषि विज्ञानमा स्नताक गरेका उनले बेलायतबाट कृषिमै स्नातकोत्तर गरे ।

बेलायतमा बस्छु भनेको भए उनलाई अवसर र त्यो अवसरले जुटाईदिने आर्थिक लाभको कुनै कमी थिएन । तर, उनले नेपाल फर्कने निर्णय गरे ।

सँधै उत्पादनमुखि शिक्षाका बारेमा सोच्ने भएरै होला उनले आफ्नो काम गर्ने क्षेत्र छाने मुस्ताङ्लाई । उत्पादन सँग मुस्ताङ्लाई जोड्दा कुनै भेउ फेला नपार्नेहरुको जमात अद्यावधि कायमै छ हाम्रो समाजमा । तर राईले मुस्ताङ्मा 'रातो सुन' उत्पादनमा आफ्नो क्षमता निखार्न थाले । अर्थात् उनले आफ्नो औचिारिक शिक्षाबाट प्राप्त ज्ञानलाई त्यसै खेर गएको मुस्ताङ्को स्याउ उत्पादन देखि बजारीकरण सम्ममा लगाए ।

०३० देखि ०४४ साल सम्म  लगातार मुस्ताङी स्याउ खेतीका बारेमा अध्ययन, अनुसन्धान र व्यवसाय विस्तारको काम गरे । निरन्तर १४ बर्षसम्म मुस्ताङी स्याउमा रमाएका उनलाई उन्नत स्याउ खेतीका प्रणेता नै मानिन्छ ।
शिक्षालाई सीप र व्यवसायिकतामा ढाल्नु पर्छ भन्ने उनको आफ्नो अवधारणा हिजो आज पुख्र्यौली गाउँमा खोलेको विद्यालयमा फिँजाईरहेका छन् । सैद्धान्तिक कम व्यवहारिक र व्यवसायिक शिक्षा ज्यादा - उनले विद्यालयको मूल मन्त्र सुनाए ।

‘भात कसरी पाक्छ भन्ने कुरा विद्यार्थीलाई भातै पकाएर सिकाउने हो, वाली नाली कसरी लगाउने भन्ने कुरा कक्षामा पढाएर हुँदैन बारीमै खनेर सिकाउनु पर्छ’ आफ्नो विद्यालयको बारेमा भन्दै गर्दा उनी त्यही प्रश्न दोहोर्याउँछन्, पढेर सकेका विद्यार्थीले पाएको प्रमाणपत्र बाकसमा थन्काउने की उसको हात पाखुरामा सीप भर्ने ?’

कुराकानीको अन्त्यमा, राईले पढाउने हैन सिकाउने आफ्नो त्यो विद्यालय र हात पाखुरीमा सीप भर्दै गरेका आफ्ना ती ५ सय विद्यार्थीलाई भेट्न एडुखबर संवाददातालाई निम्तो समेत दिन बिर्सेनन् ।

(राईसँग विष्णु विवेकले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति २०७२ माघ ६ गते ।

प्रतिक्रिया