Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कोरियाली शिक्षकको सहयोग नाथेश्वरी प्राविलाई

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६  माघ । नेपाल भ्रमणमा आएका कोरियाका शिक्षकहरुले काठमाडौँ कागेश्वरी–मनोहरा नगरपालिका, आलापोटको नाथेश्वरी प्राथमिक विद्यालयको भवन निर्माणमा सहयोग गरेका छन् । 

दुई दिन विद्यालयमा रहेर उनीहरुले भवनमा रङ्गरोगन गर्ने, विद्यार्थीलाई चित्र बनाउने कला र मनोरञ्जनका विभिन्न सीप सिकाए । विभिन्न शैक्षिक र खेलकुदका सामग्रीसमेत प्रदान गरे । 

कोरियन टिचर्स एन्ड एजुकेसन वर्कर्स युनियन, चुङनाम प्रान्तमा आबद्ध १७ शिक्षकले विद्यालयको एकतला, शौचालय, झ्याललगायत अन्य मर्मतमा समेत सहयोग गरेका हुन् । 

सो निर्माण कार्यमा कोरियाली शिक्षकले करिव २३ लाख रुपैयाँ उपलब्ध गराएको उक्त समूहलाई संयोजन गर्दै आएका सेरप जाङवु शेर्पाले जोड दिए ।

सो विद्यालयमा विगत पाँच वर्षदेखि नियमित आइरहेका कोरियाली शिक्षकका नेता ली से चुङले आफूहरु शिक्षक भएकाले विद्यालय र विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

सो अवसरमा मंगलबार बोल्दै सांसद रामेश्वर फुयाँलले नेपाल र कोरियाबीचको सम्बन्ध जनस्तरमा सुदृढ बनाउँदै लान यसप्रकारका कार्यक्रमबाट मद्दत पुग्ने धारणा राखेका थिए ।

उनले नेपालको संविधान समावेशी भएकाले यसैका माध्यमबाट जनताको हकअधिकार सुरक्षित गरी विकसित नयाँ नेपाल बनाउन यसको कार्यान्वयन आवश्यक रहेको बताए ।

काठमाडौंदेखि १७ किलोमिटर पूर्वमा २०४६ सालमा स्थापित सो विद्यालयमा हाल ६५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रामभक्त खड्काले बताए । सो अवसरमा नेपाल र कोरियाका विविध सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । 

रासस

प्रतिक्रिया