Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विश्वविद्यालय पूर्वाधार निर्माणमा महायज्ञ

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६ माघ । तनहुँको व्यास १ विज्ञान चौर स्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई मानक विश्व विद्यालय बनाउने  उद्देश्यले मंगलबारदेखि आयोजित धार्मिक एवं शैक्षिक महोत्सवको कलश यात्रामा हजारौं स्थानीय सहभागी भएका छन् ।

कलश यात्रामा हिन्दु, मुस्लिम तथा इशाई धर्मावलम्बी लगायत स्थानीय महिलाहरु र विभिन्न विद्यालयका विद्यार्थी गरी ५ हजारभन्दा धेरै सहभागी रहेको क्याम्पसका अध्यक्ष तथा शैक्षिक महोत्सवका संयोजक समुन्द्र गोदारले बताए ।

क्याम्पसबाट शुरु कलश यात्रा व्यास १० देउरालीनगरहुँदै प्रशासन चोक, ट्राफिक चोक, भोर्लेटार चोक, गणेशमान चोक र जलदेवी चोक हुँदै पुन क्याम्पसमा पुगी समापन भएको थियो ।

कलश यात्रा करिव १ किलोमिटर भन्दा लामो थियो । शैक्षिक महोत्सवको पहिलो दिन कलश यात्रा र दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको उनले बताए । महोत्सवबाट करिव ५ करोड रुपैंयाँ संकलन गर्ने लक्ष्य राखिएको र करिव ४ करोड ७० लाख रुपैंयाँ बचत गरी मानक विश्वविद्यालयको पुर्वाधार तयार तथा प्रविधियुक्त पठन विधि संचालन गरीने निवर्तमान क्याम्पस प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

'शैक्षिक विकासका लागि सबै धर्मावलम्बिहरुको विशेष सहभागिता रहने छ,' उनले भने, 'कलश यात्रामा  देखिएको व्यापक जनसहभागिताले हामीहरु थप उत्साहित भएका छौं ।'

यज्ञ मण्डप, होम कुण्ड, तुलादान, गौशाला समेत निर्माण गरिएको महायज्ञमा विभिन्न सम्प्रदायका धर्मगुरुहरुबाट प्रवचन, भजन किर्तन, योग शिविर, तुलादान, अन्नदान, लाख बत्ती प्रज्वलन, ग्रह शान्ति लगायतको कार्यक्रम गरिने क्याम्पसका सहायक प्रमुख महाप्रसाद हड्खलेले बताए । महायज्ञमा १ लाख भन्दा धेरैले सहभागिता जनाउने समेत उनले बताए ।

महोत्सव सफल पार्न २ हजार २९ सदस्यीय मुल समारोह समिति र ६४ वटा उपसमिति समेत गठन गरिएको छ । महोत्सव शुरु हुनु अगावै २५ सय थान कलश बिक्रिबाट करिव २७ लाख रुपैंयाँ संकलन भई सकेको क्याम्पसले जनाएको छ ।

२०४४ सालमा स्थापना भएको उक्त  क्याम्पसले तीन बर्ष अघि विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर विश्वसनिय प्रत्यायन प्रमाणपत्र समेत प्राप्त गरेको छ । क्याम्पसमा मानविकिदेखि स्नातकोत्तर तहसम्म २ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया