Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

पूर्व शिक्षा मन्त्री भन्छन् - सुधार गर्न त खोजेकै हो, पार्टिले नै दिएन

मंगलबार, ०५ माघ २०७२

काठमाडौं - आफु मन्त्री छँदा सुधारको प्रयास थालेपनि पार्टी भित्रकै दबाव र समस्याले गर्न नसकेको भन्दै एक जना पूर्व शिक्षा मन्त्रीले शिक्षा सुधारका लागी स्पष्ट राजनीतिक प्रतिवद्धता र इमान्दारिता नभएको स्वीकार गरेका छन् । पूर्व शिक्षा मन्त्री तथा एमाले नेता गंगालाल तुलाधारले पार्टी भित्रका शीर्ष नेताहरुको बुझाईमै समस्या रहेकाले शिक्षालाई विकास गर्न नसकिएको बताए ।

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का बारेमा भएको छलफलमा बोल्ने वक्ताहरुले राजनीतिक प्रतिवद्धता नभएकैले शिक्षा क्षेत्रका समस्या समाधान र सामुदायिक विद्यालय सुधार हुन नसकेको बताए पछि उनले आफूलाई कामै गर्न नदिएको भन्दै आफ्नो बचाउ गरेका हुन् ।

आफूले के के सुधार गर्न खोज्दा क कसले कसरी अवरोध गरे भन्ने स्पष्ट नबताएपनि उनले सबैको बलले शिक्षामा सुधार ल्याउन सकिने दाबी गरे । ‘अहिले सम्मको अवस्था हेर्दा शिक्षाको सुधार र गुणस्तर विकासका लागी राजनीतिक प्रतिवद्धता पुरा नभएकै हो’ उनले भने ‘पार्टी भित्रका शीर्ष नेताहरुको बुझाईमै समस्या रहेकाले शिक्षालाई विकास गर्न सकिएको छैन ।’ सबै एक ठाउँमा आएर निरन्तर लाग्यौं भने शिक्षामा सुधार र विकास गर्न सकिने उनले बताए । यसका लागी एक्लैले नहुने र सबैको साथ र एउटा अभियान नै चाहिने उनको भनाई छ ।

सिकाई समूहले राजधानीमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले पटक पटक नयाँ शैक्षिक कार्यक्रम लागू गर्नु भन्दा भएकै कार्यक्रमलाई पुरा गर्न राजनीतिक इमान्दारिता र प्रतिवद्धता चाहिएको बताए । प्रभावकारी कार्यन्वयन नभईकनै  अन्त्य भएको ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ सकिए सँगै शुरु ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ प्रति उनीहरुको यस्तो कटाक्ष थियो ।

कार्यक्रममा बोल्दै शिक्षाविद डा. सुर्यराज आचार्यले सरकारले शिक्षा सुधारमा बर्षेनी वजेट खन्याएपनि कुनै सुधार नहुनुमा राजनीतिक इमान्दारिता नभएको तर्क प्रस्तुत गरे । ‘बर्षेनी अर्बौ बजेट लगानी भइरहेको छ, तर शिक्षामा सुधार हुनुको साटो झन् झन् गुणस्तर खस्किरहेको छ’ उनले भने ‘यो सबै राजनीतिक इमान्दारिता नभएरै हो ।’ दलीय भागबण्डाको राजनीतिले शिक्षा क्षेत्र तहसनहस गरेको भन्दै गतिलो राजनीतिक प्रतिवद्धता नभएसम्म शिक्षामा सुधार नहुने उनको भनाइ छ । ‘अहिलेसम्म देखिएको प्रतिबद्धता भनेको चुनाव जित्नु र सरकारमा जानु मात्रै भएको छ’ उनले भने ‘चुनाव जित्नका लागी बनाइने राजनीतिक नाराले शिक्षा क्षेत्र सुध्रिदैन ।’

यस्तै कृषि वैज्ञानिक मदन राईले राजनीतिक दलहरुको मनोमानीले शिक्षामा नयाँ निति र यसको कार्यान्वयन नभएको बताए । वर्तमान शिक्षा घोकन्ते र देखासिकीको मात्रै भएको भन्दै उनले यो शिक्षाको कुनै काम नभएको समेत जिकिर गरे । ‘यो शिक्षाले के गरेको छ ? कक्षा पास गर्दै खाडी जादैँ, अनि अलि बढी दादागिरी गरेर नेता जन्माउँदै, यो बाहेक बढी हाम्रो अहिलेको शिक्षाले के गरेको छ र ?’ उनले भने ‘अब प्राविधिक र व्यवसायिक शिक्षा सिकाउनुपर्छ ।’

राजनीतिक दलहरुले शिक्षा क्षेत्रलाई आफ्ना पार्टीका कार्यकर्ता भर्ती केन्द्रका रुपमा स्थापित गरेको भन्दै उनले यसका लागी पहिले प्रतिवद्धता र त्यसपछि मात्रै नेतृत्व लिनुपर्ने माग गरे । यसो नगर्ने नेतालाई वहिष्कार गर्नुपर्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक नवराज खतिवडाले सरकारले अहिलेसम्म शिक्षा सुधारका लागी कुनै स्पष्ट कार्यक्रम नै ल्याउन नसकेको आरोप लगाए । ल्याइएका कार्यक्रम पनि राजनीतिक दलहरुको पोल्टामा गएको र पैसा र पुहँच हुनेहरुले मात्र त्यसलाई सदुपयोग गरेको उनको भनाई थियो । पार्टीका नेताहरुमा तेरो मेरो नभनिकन शिक्षामा इमान्दार नेतृत्व नभए सम्म कुनै सफलता र परिणाम हात नलाग्ने प्राध्यापक खतिवडाको भनाई थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा. लवदेव अवस्थीले एसएसडिपीका बारेमा प्रस्तुती गरेका थिए ।

प्रकाशित मिति २०७२ माघ ५ गते

प्रतिक्रिया