Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थी नभएपछि नौ विद्यालय गाभिए !

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ५ माघ । जिल्लाका नौ प्राथमिक विद्यालय विद्यार्थी नभएपछि बन्द भएका छन् । न्यूनतम विद्यार्थी सङ्ख्यासमेत पु¥याउन नसकेका विद्यालयहरु नजिकका विद्यालयमा गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

त्यसरी गाभिनेमा कृष्ण प्रावि पैयूँपाटा, सरस्वती प्रावि पैयूँपाटा, शारदा प्रावि नारायणस्थान, शिव प्रावि नारायण स्थान, बरेखानी प्रावि मल्म, सरस्वती प्रावि बानपा, कालीलेख प्रावि नरेठाँटी, सिद्ध प्रावि रायडाँडा र देउराली प्रावि हरिचौर रहेको छ । 

बन्द विद्याययका शिक्षक र विद्यार्थीलाई छिमेकका विद्यालयमा सारिएको जिशिअ विष्णुप्रसाद तिवारीले बताए । जिल्ला शिक्षा समितिको निर्णयअनुसार प्रतिकक्षा पाँच जना विद्यार्थी नभए सम्बन्धित विद्यालय एकीकरणको प्रक्रियामा जाने गरेको छ । विद्यार्थी नै नभएपछि ती विद्यालय छिमेकका विद्यालयसँग एकीकृत गरिएको जिशिअ तिवारीले बताए ।

उनले विद्यालय बन्द भएपछि शिक्षक दरबन्दी पनि अन्यत्र सारिएको जानकारी दिए । जिशिकाले विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएका विद्यालयलाई एकीकरण सम्बन्धमा पूर्वसूचना र सुधारको लागि अवसरसमेत दिने गरेको छ । जिशिअ तिवारीले भने, “विद्यार्थी नै टिकाउन नसक्ने विद्यालय क्रमिक रुपमा गाभिँदै जानेछन् ।” 

राजनीतिक दल, शिक्षक सङ्गठन र अन्य क्षेत्रबाट विद्यालय नगाभ्न दबाबसमेत आउने गरेको उनको भनाइ छ । “सरकारी लगानीअनुसार शिक्षामा प्रतिफल दिन सकिएको छैन, शिक्षा क्षेत्रमा धेरै विकृतिहरु छन्”¬–जिशिअ तिवारीले बताए । प्रावि तहमा शिक्षक बढी र विद्यार्थी कम हुँदा पनि शैक्षिक गुणस्तर सुधार हुन नसकेको उनले बताए । 

सामुदायिक विद्यालयले शिक्षण सिकाइमा सुधार ल्याउन नसक्दा समस्या सिर्जना भएको उनको भनाइ छ । बसाइसराइ, संस्थागत विद्यालयप्रतिको आकर्षण जस्ता कारणले पनि प्रावि तहमा विद्यार्थी सङ्ख्या घटेको जिशिअ तिवारीले बताए । प्रावि तहमा जिल्लाभर राहतसमेत गरी एक हजार ७०७ शिक्षक दरबन्दी छ । सामुदायिकतर्फ ३४४ प्राथमिक विद्यालयहरु छन् । 

रासस 

 

प्रतिक्रिया