Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षामा परिवर्तन गरेरै देखाउँछु : शिक्षामन्त्री

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ५ माघ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संविधान जारी भइसकेको अवस्थामा शिक्षामा परिवर्तन एवम् पुनर्गठन गर्न आफू शिक्षा मन्त्री भएर आएको बताएका छन् ।  सोमबार भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित गणेश माध्यमिक विद्यालयमा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको विद्यालय पुनःनिर्माण तथा विद्यालय शिक्षा सुधारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले परिवर्तनको जग बसाल्न अति आवश्यक रहेको दाबी गरे ।

उनले आफूलाई अरु मन्त्री जस्तो नठानी काम गर्न निर्देशन दिँदै मन्त्री पोखरेलले भने– “यी मन्त्री भन्या आउँछन्, जान्छन्, फेरि अर्को आउँछन् भन्ने नसोच्नुस्, अहिलेसम्म शिक्षा क्षेत्र जुन ढङ्गले चलेको छ, चलिरहन्छ भन्ने नठान्नुस्, अब जनताले थाहा पाउने गरी शिक्षामा परिवर्तन हुन्छ, म परिवर्तन गरेरै छाड्छु ।” 

शिक्षाको पुनर्गठन गरेर संविधान कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले शिक्षा ऐनको आठौँ संशोधनले शिक्षामा आमूल परिवर्तन आउने र शैक्षिक सुशासन कायम हुने उनको भनाइ थियो । 

मन्त्री पोखरेलले भने – “शिक्षामा सिस्टम लागू हुन नदिन ब्युरोक्रेसी बढेको छ, पहुँचवाला र कमिसनको खेलमा शिक्षाको सिस्टम चलेको छ, अब त्यसको अन्त्य हुनुपर्छ, शिक्षामा अब सोर्सफोर्सको पनि अन्त्य हुनुपर्छ ।” 

अहिले भूकम्पले सिर्जना गरेको चुनौती, संविधान कार्यान्वयनको चुनौती, नाकाबन्दीको समस्या, भ्रष्टाचार अन्त्य गर्ने चुनौती रहेको बताउँदै उहाँले भूकम्पको सामना गर्दै पुनःनिर्माणमा जुट्दै जाने, नाकाबन्दीको कूटनीतिक ढङ्गले समस्या हल गर्ने, संविधान कार्यान्वयनमा सबै जुट्ने र सङ्कल्प गरेर भ्रष्टाचार अन्त्य गर्ने गरी सरकार अगाडि बढेको उनको भनाइ थियो । 

अब सबै कुराको एकीकरणको आवश्यकता औँल्याउँदै मन्त्री पोखरेलले भने– “पृथ्वी नारायण शाहले भूगोलको एकीकरण गरेजस्तै अब सबैको भावनाको एकीकरण हुन जरुरी छ, सबै मान्छेको मन, उनीहरुको भाषा, संस्कृति, जीवन पद्धतिलाई एकै ठाउँमा ल्याउने गरी अगाडि बढ्नु पर्छ ।” 

अबको नयाँ शैक्षिक सत्रमा पाँच वर्ष उमेर पुगेका कुनै पनि बालबालिका विद्यालय जान छुट्न नहुने, अक्षराङ्कन प्रणालीको एसएलसी परीक्षाको नतिजा राम्रो ल्याउने व्यवस्था गर्न, सबै जिल्लालाई साक्षर घोषणा गर्न र निरन्तर शिक्षालाई अगाडि बढाउन उहाँले कर्मचारीलाई निर्देशन दिए । 

उनले आगामी तीन वर्षभित्र भूकम्पले भत्काएका सबै विद्यालयको पुनःनिर्माण सिध्याउने गरी काम गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिए ।  कार्यक्रममा काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्कर गौतम, ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी र भक्तपुरका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले जिल्लागत प्रगति प्रस्तुत गर्दै भूकम्पले क्षति पु¥याएको विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

त्यसअवसरमा शिक्षा विभागका निर्देशक वैकुण्ठप्रसाद अर्याल, मध्यमाञ्चल शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद काप्री, शिक्षा विभागका उपनिर्देशक झपरसिंह विश्वकर्मालगायतले भूकम्पपछिको विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने औल्याएका थिए ।

रासस

प्रतिक्रिया