Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दलको द्वन्द्वले विद्यालयमा कुटाकुट 

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ४ माघ । विद्यालयमा आफ्नो बर्चस्व कायम गर्ने उद्धेश्यले राजनीतिक दलहरु भिडन्तमा उत्रिँदा धनुषाको मिथिलेश्वर मौवाही गाउँनै तनावग्रस्त बनेको छ । 

राष्ट्रिय माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीमा प्रधानाध्यापक र राजनीतिक दलहरुले मिलोमतो गरेर अपचलन गर्दै आएको रकमबारे विवाद उत्पन्न भएपछि सम्पूर्ण गाउँ नै हिंसाको शिकार भएको छ । 

विद्यालयमा भौतिक निर्माण, छात्रवृत्ति तथा अन्य शीर्षकहरुमा आउने रकम एमाओवादी, कांग्रेस र एमाले नेता कार्यकर्ताहरुको मिलोमतोमा कामै नगरी खाने क्रममा विवाद भएको हो । 

विद्यालयका प्रधानाध्यापक लक्ष्मेश्वर मण्डलले पठनपाठनमासमेत ध्यान नदिई रकम लिएर अयोग्य शिक्षकहरु भर्ना गर्ने गरेपछि आफूहरुको पढाइ बिग्रेको भन्दै पुस २६ गते विद्यार्थीहरुले उनलाई कुटपिट प्रयास गरेका थिए । 

सो क्रममा विद्यार्थीहरुले स्थानीय प्रहरी चौकीको गाडीमा समेत तोडफोड गरेका थिए । घटनापछि गाउँका भद्रभलादमीले सम्झाई बुझाई गरेपछि अवस्था केही सामान्य बनेर अर्को दिन पठनपाठन सुरु भएको थियो । 

तर, सो काण्डलाई राजनीतिक मोड दिँदै पुस २८ गते नेपाली कांग्रेस र एमालेका केही व्यक्तिहरुले विद्यालयमा पसेर विद्यार्थीहरुलाई कुटपिट गर्दै विद्यालयमा तालाबन्दी गरेका थिए । 

घटनाको अर्को दिन मिथिलेश्वरका विद्यार्थीहरुले नजिकै रहेको परुशराम तलाव माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई समेत लिइ गाउँमा पसेर विद्यालयमा विद्यार्थी कुट्ने र तालाबन्दी गर्नेहरुको घरघरमा तोडफोड र लुटपाट गरेको बताइएको छ । 

तर, यो सबै कार्यमा एमाओवादीका धनुषा जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई उक्साएको बताइएको छ । 

विद्यालयलाई सहयोग गर्ने संस्थापकका परिवारहरु, पूर्वविद्यालय व्यवस्थापन समितिका सदस्यहरुको घरमा लुटपाट र तोडफोड गर्न निर्देशित गरेको आरोप गाउँका नागरिक समाजका अगुवाहरुले लगाएका छन् । 

नागरिक समाजका अगुवा सियाराम मण्डलको नेतृत्वमा गाउँलेहरुले पत्रकार सम्मेलन गरि एमाओवादीका नेता मण्डलले पहिलादेखि नै विद्यालयको व्यवस्थापनमा आफ्नो वर्चस्व राखी  बजेट अनियमितता गर्दै आएको आरोप लगाए । 

दुई वर्षदेखि गाउँमा नागरिक समाजको गठन गरि विद्यालयलाई व्यवस्थित गर्न खोज्दा मण्डलले विद्यार्थीहरुलाई उक्साएर विद्यालय सुधार समितिका सदस्यसहितको घरमा तोडफोड र लुटपाट गराई दुई करोड भन्दा बढिको क्षति गराएको आरोप कांग्रेसका गाउँस्तरीय नेता रामपलटन साहले लगाए । 

एमाओवादी नेता मण्डलको निर्देशनमा रामउदगार दास, रसिलाल पण्डित, रंजित मण्डल, कमल भण्डारी, श्याम मण्डल, दीपनारायण मण्डल, चन्द्रकला देवी, मोबारक राइन सहितका व्यक्तिहरुले तीनवटा मोटरसाइकलमा तोडफोड गर्नुका साथै लाखौें रकम लुटपाट गरेको आरोप गाउँलेहरुको छ । 

नेता मण्डलको निर्देशनमा स्थानीय सञ्जीव मण्डल, दिलिप मण्डल, अनिल मण्डल, सत्यनारायण मण्डल, रामपृत दास, श्रीनारायण मण्डल, कंचन मण्डल, तेजनारायण मण्डल, जयनारायण मण्डल, पप्पु मण्डल, लक्ष्मण मण्डल, इसुफ राइन, परशुराम महासेठ सहितको घरमा लुटपाट गरिएको जनाइएको छ । 

यता, एमाओवादी नेता मण्डलले यो सबै आरोप गलत रहेको र आफुलाई घटनासँग कुनै मतलब नरहेको बताएका छन् । 

‘विद्यार्थीहरुले आफ्नो पढ्न पाउने अधिकारको लागिप्रधानाध्यापकलाई दबाव दिँदा कांग्रेस एमालेले संरक्षककोरुपमा अघि बढेर प्रधानाध्यापकलाई बचाउन खोजेकोले घटना भएको हो’, अन्नपूर्ण अनलाइनसँग कुरागर्दै मण्डलले भने । 

मिथिलेश्वर मौवाहीका नागरिक समाजको टोलीले आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर घटनामा संलग्नहरुमाथि कार्वाहीको माग गर्दै विद्यालयलाई शान्तिक्षेत्र बनाएर पठनपाठनको वातावरण निर्माण गराइदिन अनुरोध गरेको छ । 

प्रजिअ पराजुलीले यस विषयमा जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिई अनुसन्धानात्मक प्रतिवेदन बुझाउन र जिल्ला प्रहरी कार्यालयको टोलीले छानबिन गरि दोषी पत्ता लगाई कारबाही अघि बढाउने निर्देशन दिएका छन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया