Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

द्वन्द्व र चट्याङले ध्वस्त विद्यालय निर्माण

सोमबार, ०४ माघ २०७२

काठमाडौँ, ४ माघ । जाजरकोटको दुर्गम गाउँमा रहेको एक द्वन्द्व प्रभावित विद्यालय निर्माण गरिएको छ । लहँ गाविस– ८ लविसामा रहेको गणेश प्राथमिक विद्यालयको भवन निर्माण गरिएको हो । 

डाँफे युवा क्लबको प्राविधिक सहयोगमा लामीपाखा सामुदायिक संस्था लहँ– ८ लविसाले सो विद्यालय निर्माण गरेको हो ।  विद्यालय भवन रु १८ लाख ३५ हजारको गरिबी निवारण कोषको आर्थिक अनुदान र रु सात लाख ७७ हजार समुदायको श्रमदानमा निर्माण गरिएको लामीपाखा सामुदायिक संस्थाका अध्यक्ष चन्द्रबहादुर दमार्इंले बताए । 

भवन निर्माणमा देखिएको जनसहभागिताले पक्कै पनि शैक्षिक जागरण पैदा गर्नेमा आफू विश्वस्त भएको विद्यालय प्रअ रुद्रबहादुर शाहीले बताउनुभयो । घरमा भन्दा विद्यालयको भौतिक पूर्वाधार राम्रो भएमा, विद्यालयमा शैक्षिक सामग्री, खेला मैदान, खानेपानी, शौचालयलगायतका विषय व्यवस्थित गर्न सकेमा शिक्षक, विद्यार्थीमा आफैँ जागरण पैदा हुने प्रअ शाहीको भनाइ छ । 

विसं २०४५ मा स्थापना भएको उक्त विद्यालयमा २०५५ साल जेठ महिनामा प्रहरीद्वारा चलाइएको अन्धाधुन्ध गोली लागेर आठजनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा एक विद्यालय व्यवस्थापन समितिका सदस्य, तीन शिक्षक, तीन अभिभावक र एकजना ग्रामीण स्वास्थ्य कार्यकर्ता रहेका थिए । 

त्यसैगरी २०५८ वैशाख ६ गते सोही विद्यालयमा चट्याङ परेर तीनजनाको ज्यान गुमेको थियो । ज्यान गुमाउनेमा एक शिक्षक, एक विद्यार्थी र एकजना अभिभावक रहेका थिए । 

रासस 

 

प्रतिक्रिया