काठमाडौँ, ३ माघ । सोलुखुम्बुको बुङ, गुदेल, छेस्काम जस्ता दुर्गम भेगका बालबालिका विद्यालय जानुअघि अभिभावकको स्याहार त परै जाओस् मकै, कोदोको खानेकुराले पेट भर्नसमेत पाउँदैनन् ।
झिसमिसेमै घाँस, दाउरा तथा गाईवस्तु चराउनका लागि घरबाट निस्कने बालबालिका विद्यालय जाने समय भएपछि हतार हतार घर आउँछन्, तर घरमा खाना पाकेकै हुन्न, किनभने अभिभावक काममा व्यस्त हुन्छन् ।
अनि विद्यालयको पोसाक लगाई पुस्तकको झोला टिपेर खानै नखाई विद्यालय दौडन्छन् । गुदेलका एक अभिभावक रामकुमारी कुलुङ भन्नुहुन्छ – “खेती गरेर नै जीविकोपार्जन गर्नुपर्ने र बुबाआमाले मात्र काम गर्न नभ्याउने भएकाले छोराछोरीलाई पनि काममा लगाउनुपर्छ, विचरा कति दिन भोकै दौडन्छन् र कति दिन विद्यालय जान समेत पाउँदैनन् ।”
“भोकोपेट विद्यालय पुगेपछि पढ्न जाँगर आउँदैन” गुदेल माविमा कक्षा १० मा अध्ययनरत उर्मिला कुलुङले भनिन् – “खाना नखाई विद्यालय आएको त कति हो कति, त्यस्ता दिन गनेर साध्य नै छैन, के गर्नू, काम नगरी हुन्न, खाना पकाउनै नभ्याएपछि, कोही बेला अघिल्लो दिन बेलुका भुटेका मकै तथा रोटी खाँदै विद्यालय जान्छौँ, त्यो पनि बसेर खाँदा विद्यालय पुगिँदैन ।”
उर्मिला जस्तै गुदेल माविमा अध्ययनरत अधिकांश विद्यार्थीको बाध्यता यस्तै छ । माविबाट नजिकको बस्तीका बालबालिकालाई यस्तो समस्या कम परे पनि माविबाट टाढा रहेकाहरुले यो समस्या बढी खेप्ने गरेका छन् ।
गुदेलका चाचालुङ, तुमाउ, लुच्चाम र साद्धीलगायत स्थानका धेरै विद्यार्थीले यस्तो समस्या निकै भोगेका छन् । उनीहरूमध्ये केहीले बेलुकी नै विद्यालय जाने झोलामा खाजा राखिसक्छन् र दिउँसो विद्यालयमा खान्छन् तर धेरै साँझ घर फर्कंदासम्म पनि भोकै हुन्छन् ।
रासस
प्रतिक्रिया